• २०८१ फाल्गुण २६ सोमबार

जसपाका पूर्वसांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश

kharibot

सर्लाही । जसपाका नेपालका पूर्व सांसद प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

जनतासँग माओवाद, तराई मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभामा उहाँ माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् ।

साह २०७४ को आम निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने २०७८ देखि प्रमुख सचेतको भूमिका निर्वाह गरेका थिए ।

पार्टी प्रवेशपछि नेता साहले २४० वर्षे एकात्मक सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने प्रमुख दल माओवादी केन्द्र भएकाले आफूले यही दल रोजेको बताए । तमाम उत्पीडित समुदायलाई मुक्ति दिने माओवादी र यसको कुशल नेतृत्व प्रचण्डले नै अब मधेस आन्दोलनका बाँकी कार्यभार पूरा गर्नसक्ने ठहर गरी आफू माओवादीको हिस्सेदार बन्न पुगेको उनले स्पष्ट गरे ।

अहिले काङ्ग्रेस र एमाले पहिचान बिरोधी दलको रुपमा देखिएको तथा मधेसी दल अवसरवादमा लिप्त भएकाले अब माओवादीलाई विश्वास गरेर मात्रै मधेसी जनताको मुक्ति सम्भव हुने बताए । अब आफू माओवादी आन्दोलनमा रहेर पहिचान, अधिकार र सुशासनको पक्षमा अघि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गरे ।

उनीसँगै ठूलो संख्यामा जसपा नेपालसहित विभिन्न दलका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै