काठमाडौं । रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर प्रवृत्तितर्फ अघि बढेको आरोप लगाएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै रास्वपा सांसद खनालले प्रधानमन्त्रीलाई प्रश्न सोधेको आरोपमा दुई युट्युबरको प्रेस पास निलम्बन गरिएपछि प्रधानमन्त्रीलाई हिटलर बन्दै हो भनेर प्रश्न गरेका छन् ।
‘के तपाईं हिटलर हो ? भनेर प्रश्न सोधेको आधारमा दुई जना पत्रकारको पास संघीय संसदले निलम्बन गरेछ। केही दिन अगाडि यही सत्तापक्षका माननीयले निर्वाचन जितेर आएको मानिस पनि हिटलर हुनसक्छ र भनेर प्रश्न सोध्नुभएको थियो। संसद सचिवालयलाई सचेत गराउनुभएको थियो। आज निलम्बनको खबर आयो,’ उनले भने ।
केही दिनअघि काठमाडौंको दशरथ रंगशालामा भएको केपी ओली अप फुटबलको फाइनल हेर्न आएका एक दर्शक आयोजकबाट कुटिएको भन्दै उनले आपत्ति जनाएका छन् । विभिन्न घटनालाई हेर्दा ओली हिटलर प्रवृत्तिमा अघि बढेको टिप्पणी गरे ।
‘खुलामञ्चमा फुटबल म्याचमा प्रधानमन्त्रीको विरोध गर्दा कि मानिस कुटिन्छ, कि जेल हालिन्छ। अब मेरो पनि प्रश्न के प्रधानमन्त्रीज्यू तपाईं हिटलर बन्दै हो?,’ उनको प्रश्न थियो ।