काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जापानमा हुने आसन्न २०औं एसियाली खेलकुदको तयारीलाई लक्षित गरी सञ्चालन गरिहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका ६ खेलाडीसहित ८ सदस्यीय नेपाली कुस्ती टोली सोमबार भारतको उत्तरप्रदेशस्थित नन्दनीनगर प्रस्थान गरेको छ ।
तयारीलाई थप प्रभावकारी बनाउन टोली भारत गएको हो । भारतमा टोलीले १५ दिन प्रशिक्षणका साथै भारतीय खेलाडीसंग मैत्रीपूर्ण खेल पनि खेल्ने छ । जसमा पुरुष खेलाडी सुरेश चुनारा, सुजित यादव र रामकिशोर यादव रहेका छन् भने महिला खेलाडीमा सुशिला चन्द, मनीषा सिंह र हेमा भट्ट रहेका छन् । त्यस्तै मुख्य प्रशिक्षक मुम्ताज अली इद्रिसी र सहायक प्रशिक्षक सञ्जय यादव रहेका छन् ।
टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गरेका थिए । सो अवसरमा राखेपका सदस्य अञ्जन धमला, राखेपका सदस्य एवं नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी, तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट र उप निर्देशक दीपक श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।