काठमाडौँ । भारतको कोलकाताको आरजी कर मेडिकल कलेजमा भएको बलत्कारपछि हत्याको मुद्दा दोषी संजय रोयलाई आजीवन कारावासको सजाय सुनाइएको छ ।
सियालदह अदालतले रोयलाई ५० हजार जरिवानासहित आजीवन काराबासको सजाय तोकेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । साथै सियालदह अदालतले पीडितका परिवारलाई १० लाख क्षतिपूर्ति र थप ७ लाख दिन आदेश दिएको छ ।
यसअघि, सरकारी आरजी कर मेडिकल कलेज र अस्पतालमा एक महिला इन्टर्न डाक्टरको बलात्कार र हत्याको मुद्दामा कोलकाताको एक अदालतले संजय रोयलाई दोषी ठहराएको थियो । रोयलाई जुन धाराहरू अन्तर्गत दोषी ठहराइएको छ, त्यस अन्तर्गत उनलाई न्यूनतम आजीवन कारावासको सजाय हुन सक्छ भने अधिकतम सजाय मृत्युदण्ड हुन सक्छ ।
आरजी कर अस्पतालका प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको मुद्दामा संजय रायलाई आजीवन कारावासको सजाय सुनाइएपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले अदालतको निर्णयबाट आफू सन्तुष्ट नभएको बताएकी छन् ।
सञ्जय रोयलाई गत वर्ष अगस्ट ९ मा अस्पतालमा स्नातकोत्तर प्रशिक्षार्थी महिला डाक्टरलाई बलात्कार र हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको थियो ।
आरजी कार अस्पतालको सेमिनार कोठामा ३१ वर्षीय डाक्टरको शव भेटिएको एक दिनपछि, अगस्ट १०, २०२४ मा संजयलाई पक्राउ गरिएको थियो ।