काठमाडौं । अध्यक्ष सूर्यप्रसाद सिलवाल भ्रष्टाचारमा डामिएर निलम्बनमा परेपछि नेपाल बीमा प्राधिकरणले अध्यक्षका लागि आवेदन माग गरेको छ । शुक्रबार प्राधिकरणले एक सूचना जारी गर्दै सञ्चालक समितिको अध्यक्षमा आवेदन माग गरेको हो ।
अध्यक्ष पदमा नियुक्तिको निम्ति गठित सिफारिस समितिले १५ दिनको अवधि राखेर आवेदन खुला गरेको हो ।
समितिले बिमा ऐन, २०७९ को दफा ८ को उपदफा (१) क बमोजिम योग्यता पुगेका व्यक्तिबाट आवेदन माग गरेको छ । अध्यक्षका निम्ति बिमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा त्यससरहको उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख गरेको छ ।
आवेदन दिन सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्यानुभव हासिल गरेको हुनुपर्नेछ ।
आवेदनका निम्ति सात हजार ५०० रुपैयाँ दस्तुर तोकिएको छ । आवेदकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवेदन बुझाउनुपर्नेछ ।
सिलवालमाथि नागरिकता किर्तेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी पदमुक्त भएका थिए । अर्थ मन्त्रालयले अर्को अध्यक्ष नियुक्त नभएसम्मका निम्ति सहसचिव मदन दहाललाई अध्यक्षका रूपमा पठाएको छ ।