• २०८१ पौष २ मंगलबार

दक्षिण कोरियाका राष्ट्रपति युनविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पारित

kharibot

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्ध दोस्रो पटक दर्ता भएको महाअभियोग प्रस्ताव संसदबाट पारित भएको छ ।

आज भएको मतदानमा प्रस्तावको पक्षमा २०४ मत परेको थियो भने विपक्षमा ८४ मत खसेको थियो । महाअभियोग प्रस्ताव पारित हुन संसद्का ३०० सदस्यको दुई तिहाइ अर्थात् २ सय सांसदको समर्थन चाहिनेमा विपक्षीसँग १९२ सांसद थिए । मतदानमा सत्ता पक्षका सांसदले समेत साथ दिएपछि प्रस्ताव पारित भएको हो ।

यसअघि ल्याइएको महाअभियोगमा विपक्षीले आवश्यक संख्या जुटाउन नसकेपछि राष्ट्रपति युन महाअभियोगबाट जोगिएका थिए ।

महाअभियोग प्रस्ताव पारित भएसँगै राष्ट्रपति युन पदमुक्त भएका छन् भने प्रधानमन्त्री हान डक सुले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका छन् । महाअभियोग पारित भएपछि संसद् भवन अगाडि प्रदर्शन गरिरहेका प्रदर्शनकारीले खुसी मनाएका थिए ।

राष्ट्रपति योलले डिसेम्बर ३ मा राष्ट्रहितका लागि भन्दै सैन्य कानुन लागु गरेको घोषणा गरेका थिए । तर नागरिक र संसदले मतदानमार्फत उक्त घोषणा अमान्य रहेको ठहर गरेपछि राष्ट्रपतिले ६ घण्टाकै अन्तरालमा आफ्नो घोषणा फिर्ता लिएका थिए । सोही विषयमा विपक्षी ६ दलले दर्ता गराएको दोस्रो पटक महाअभियोग पारित भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै