• २०८१ मङ्सिर २ आइतबार

प्रचण्डको ‘द हिन्दु’सँगको अन्तर्वार्ताको एमालेद्वारा भर्त्सना, गैरजिम्मेदार अभिव्यक्ति फिर्ता लिन आग्रह

kharibot

काठमाडौं । सत्तारूढ नेकपा एमालेले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय पत्रिका ‘द हिन्दु’सँगको अन्तर्वार्तामा व्यक्त गरेका अभिव्यक्तिको भर्त्सना गरेको छ ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले 'चिनियाँ कार्ड' खेलेको भन्दै प्रचण्डले भारतीय पत्रिकामा दिएको अन्तर्वार्ताको एमालेले नेपालको सार्वभौम हित तथा परराष्ट्र नीतिमा क्षति पुर्‍याउने रहेको टिप्पणी गरेको हो ।

एमालेका सचिव एवं विदेश विभाग प्रमुख रघुवीर महासेठले जारी गरेको विज्ञप्तिमा भनिएको छ- 'नेपाललाई कुनै पनि परराष्ट्रको अनुमोदन आवश्यक छैन । प्रधानमन्त्रीको चीन भ्रमण नेपालले पालना गरेको स्वतन्त्र परराष्ट्र नीतिको प्रतिविम्ब हो । प्रचण्डका शब्दहरूले नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता र जनताको प्रतिष्ठामाथि प्रहार गरेका छन् ।'

एमालेले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले ऐतिहासिक नेतृत्व र परिपक्वता देखाएको जनाउदै नेपालको सार्वभौम हित र राष्ट्रिय स्वाभिमानलाई प्राथमिकतामा राख्दै भारत र चीनसँगको परस्पर आदरयुक्त सहकार्यलाई अघि बढाएको दाबी गरेको छ ।

प्रचण्डको अभिव्यक्ति नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई हानि पुर्‍याउने खालको रहेको एमालेले जिकिर गर्दै भनेको छ- 'नेकपा एमाले नेपालले भारत र चीनसँगको सन्तुलित सम्बन्ध कायम गर्न आफू कटिबद्ध रहेको पुनः पुष्टि गर्दछ । साथै, पुष्पकमल दाहाललाई आफ्नो गैरजिम्मेवार र विभाजनकारी अभिव्यक्तिहरू फिर्ता लिन र नेपाली जनतासँग माफी माग्न आग्रह गर्दछ ।'
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै