• २०८१ असोज २७ आइतबार

सलमान र शाहरुखको झगडा मिलाउने बाबा सिद्दिकी !

kharibot

काठमाडौँ । महाराष्ट्रका नेता बाबा सिद्दिकीको शनिबार राति अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । गोली लागेपछि बाबा सिद्दिकीलाई हतार हतार लीलावती अस्पतालमा भर्ना गरिएको थियो । तर, चिकित्सकले उनको ज्यान बचाउन सकेनन् ।

मुम्बईको राजनीतिदेखि बलिउडसम्म बाबा सिद्दिकीको प्रभाव थियो । शाहरुख खान र सलमान खानलाई उनीहरुको सुपरस्टारडमका लागि तुलना गरिन्छ । यी दुई कलाकारबीच आज राम्रो मित्रता छ तर कुनै समय एकअर्कासँग हाई प्रोफाइल विवादमा फसेको थियो । बाबा सिद्दिकीका कारण यी दुईबीचको दरार अन्त्य भएको थियो । सिद्दीकी यस्तो नेता थिए जसको इफ्तार पार्टीमा ठूला स्टारहरु सहभागी हुने गरेका थिए ।

सन् २००८ मा कट्रिना कैफको बर्थडे पार्टीमा दुई स्टारबीच ठूलो झगडा भएको बताइएको छ । यो झगडापछि दुवै स्टारले एकअर्कासँग बोल्न छोडे । कुनै पनि कार्यक्रममा भेटघाट पनि रोकियो ।

दुई सुपरस्टारबीचको यो झगडा केही वर्षपछि अन्त्य भयो । यसको पूरा श्रेय बाबा सिद्दिकीलाई दिइन्छ । ईदको अवसरमा बाबा सिद्दिकीको इफ्तार पार्टीमा बलिउडका चर्चित कलाकारहरुको जमघट हुने गरेको छ । सन् २०१३ मा सिद्दिकीको इफ्तार पार्टीमा सलमान र शाहरुखबीचको दूरी समाप्त भएको थियो । यो इफ्तार पार्टीमा दुवैले आफ्नो मतभेद बिर्सेर एकअर्कालाई अँगालो हालेका थिए ।

बाबा सिद्दीकी कांग्रेसबाट तीन पटक विधायक र एक पटक महाराष्ट्र सरकारमा मन्त्री थिए। उनले कांग्रेसको विद्यार्थीसंगठनमार्फत विद्यार्थी राजनीति सुरु गरेका थिए । उनले लोकसभा चुनावअघि महाराष्ट्र कांग्रेसबाट राजीनामा दिएका थिए । त्यसपछि उनी अजित पवार नेतृत्वको एनसीपीमा प्रवेश गरेका थिए ।

सिद्दिकीको हत्या किन र कसले गर्यो भन्ने अहिलेसम्म स्पष्ट हुन नसकेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।  मिडिया रिपोर्टका अनुसार सिद्दिकीको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै