• २०८१ असोज १८ शुक्रबार

बाढीबाट प्रभावित काभ्रेका तीन पालिकालाई काठमाडौँ महानगरको २०-२० लाख सहयोग

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई बाढीजन्य विपदबाट पुगेको क्षति पुनःस्थापना तथा संकट व्यवस्थापन गर्न राहतका लागि २०-२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

महानगरका प्रमुख बालेन शाहको अध्यक्षतामा आज बसेको महानगर विपद व्यवस्थापन समितिको बैठकले पालिकाहरुको कोषमा सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो । यसरी सहयोग प्रदान गरिने पालिकाहरुमा पनौती नगरपालिका, रोशी गाउँपालिका र वेथानचोक गाउँपालिका छन् । 

पालिकाहरुबाट सहयोगको माग भएपछि विपद व्यवस्थापन समितिमा छलफल गरेर सहयोगका शिफारिस गरेर महानगर विपद व्यवस्थापन समितिमा पठाइएको, समितिका संयोजक प्रेम थापाले जानकारी दिए । 

आन्तरिक क्षति व्यवस्थापन गर्दै संकटमा परेका पालिकाहरुलाई महानगरपालिकाले सहयोग उपलब्ध गराएको हो । आन्तरिकतर्फ आफ्नो भौगोलिक क्षेत्रभित्र भएको क्षतिको विवरण पठाउन वडाहरुलाई पत्राचार गरिएको छ । वाह्यतर्फ सहयोगका माग भएका स्थानीय तहहरुलाई ‘विपद व्यवस्थापन कोष’ बाट सहयोग उपलब्ध गराएको हो । अनधिकृत बसोबासलाई भौतिक सहयोग गरेर असुरक्षित आवासलाई बढावा नदिने महानगरपालिकाको नीति छ ।  

सहयोग उपलब्ध गराइएका पालिका क्षेत्रमा असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल बर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी र पहिरोले व्यक्तिका बस्ने घर पूर्ण र आंशिक रुपमा क्षति गरेको छ ।

सार्वजनिक सेवा प्रदान गरिने कार्यालयहरुबाट सेवा प्रवाह गर्न कठिन हुने अवस्था सिर्जना भएको छ । सडक, खानेपानीका ट्याङ्की तथा पाइप लाइन, सञ्चार र विद्युत सञ्जाल विच्छेद भएको छ । खेतीबाली बगाएको र पुरिएको छ । लत्ताकपडा, खानेकुराको अभाव तथा स्वास्थ्यजन्य समस्या सिर्जना भएको छ । यस्तो मानवीय संकटमा राहत र पुनःस्थापना गर्न महानगरपालिकाले सहयोग गरेको हो ।  

बाढी पहिरोको विपत्तिमा परेर पनौती नगर क्षेत्रमा २० जना व्यक्तिको मृत्यु भएको छ । ५ सय वटा घर पूर्ण र ७१३ वटा घर आंशिक रुपमा क्षति भएका छन् । २ हजारभन्दा धेरै पशु धनको क्षति भएको छ । 
रोशी गाउँपालिका क्षेत्रभित्र १२ जना व्यक्तिको निधन भएको छ । आवासीय करिब ५ सय घरमा पूर्ण क्षति भएको छ । करिब १ हजार ५ सय घरमा आंशिक क्षति भएको छ । खसी बोका, गाई, भैसी गरेर करिब ५ सय र कुखुरा चल्ला करिब २ हजार संख्यामा क्षति भएको छ ।    

वेथानचोक गाउँपालिकाभित्र १२ जना व्यक्तिको निधन भएको छ । पूर्ण र आंशिक गरेर ९७० वटा घरहरुमा क्षति पुगेको छ । गाई, भैँसी र वंगुर गरेर १ हजार वटा, ८ हजार ५ सय वटा कुखुरा गरी ९ हजार ५ सय बढी पशुधनको क्षति भएको छ ।  गाउँपालिकाको प्रशासनिक भवनमा पनि क्षति पुगेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै