काठमाडौँ । अमेरिकाले नेपाललाई विपद प्रतिकार्यका लागि हेलिकप्टर खरिदका लागि सहयोग गर्ने भएको छ ।
नेपाल भ्रमणमा रहेका अमेरिकी उप-विदेशमन्त्री रिचार्ड वर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटका क्रममा सो जानकारी दिएको काठमाडौँस्थित अमेरिकी दुताबासले जनाएको छ ।
आजै काठमाडौँ आएका व्यवस्थापन तथा श्रोतसम्बन्धी अमेरिकी उप-विदेशमन्त्री रिचार्डले प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेका थिए ।
सो भेटका क्रममा नेपालमा अमेरिकी सहयोग र अमेरिका–नेपाल साझेदारीबारे कुराकानी भएको थियो ।
साथै भेटका क्रममा उप-विदेशमन्त्री रिचार्डले नेपाली सेनालाई विपद् प्रतिकार्य प्रयासमा सहयोग गर्न थप नयाँ हेलिकप्टर खरिदका लागि अमेरिका सहयोग गर्न सहमत भएको जानकारी गराएका थिए ।
साथै रिचार्डले एमसीसी नेपाल कम्प्याक्टको उपलब्धिको बारेमा कुरा गर्न एमसीसी एकाउन्ट नेपालका अधिकारीहरूसँग पनि भेट गरेका थिए ।