• २०८१ असोज ५ शनिबार

१० गुणा बढी किमो दिएपछि क्यान्सर बिरामीको मृत्यु, दुई नर्स निलम्बित

kharibot

चितवन । क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि अर्थात किमोको मात्रा बढी दिएर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि दुई नर्सलाई निलम्बन गरिएको छ ।

दुई चिकित्सकसहित २३ जनासँग स्पष्टीकरण माग गरी सचेत गराइएको छ । अस्पतालमा उपचारका निम्ति आएका बिरामीलाई दिनुपर्नेभन्दा १० गुणा बढी किमोको मात्रा दिइएपछि मृत्यु भएको थियो । ३.४ मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पताले जनाएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार, लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उपचार जारी थियो । उपचारका क्रममा आवश्यकभन्दा बढी किमो दिइएपछि गुरुङको मृत्यु भएको छ । मेडिकल वार्डमा तीनपटकसम्म सोही मात्राको किमो दिइएपछि बिरामीको शरीरले धान्न नसकेर गएको असार १३ गते राति मृत्यु भएको थियो ।

बिरामीको उपचारमा लापरबाही गरेको देखिएपछि अस्पताल प्रशासनले दुई चिकित्सकसहित २३ नर्ससँग स्पष्टीकरण मागेको थियो । अस्पतालले नर्स प्रभा तामाङ र आकृति श्रेष्ठलाई निलम्बन गरेको छ ।

यस प्रकरणलाई छानबिन गर्न अस्पतालले उपनिर्देशक डा. उमेश नेपाल, मेडिकल अंकोलोजी विभागका प्रमुख डा. गुरुशरण शाह र नर्सिङ प्रमुख अनिता देवकोटा सम्मिलित छानबिन समिति गठन गरेको थियो । समितिले यही साउन ३ गते प्रतिवेदन बुझाएपछि कारवाही गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै