• २०८१ असोज ५ शनिबार

सौर्य एयरलाइन्सको विमान दुर्घटना बारे पर्यटनमन्त्रीले दिए संसदमा जानकारी

kharibot

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा जाँचबुझ आयोगले काम सुरु गरिसकेको जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले दुर्घटना जाँच आयोगले दुर्घटनास्थलको स्थलगत अनुगमनगरी आवश्यक विवरण लिएको बताए । आयोगले ककपीट भ्वाइस रेकर्डर (सिभिआर) र फ्लाइट डाटा रेकर्डर (एफडीआर) सङ्कलनगरी डाटा विश्लेषणको तयारी गरिएको उनले संसदलाई बताएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एनएक्स १३ को प्रावधान तथा गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली– २०७१ अनुरुप जाँचबुझ आयोग गठन गरिएको हो । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समय र शून्य समयमा सांसदहरुले विमान दुर्घटनाको बारेमा प्रश्न गरेको थियो ।

पर्यटनमन्त्री पाण्डेले विमान दुर्घटनाबारे जाँच गर्न समिति बनिसकेको र सरोकारवाला विभिन्न निकायसँग परामर्श गरिएको भन्दै दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन मन्त्रालय प्रतिबद्धताका साथ लाग्ने विश्वास व्यक्त गरे । उनले विमान दुर्घटनाको भोलिपल्टै संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा छलफल गरिएको बताए ।

पर्यटनमन्त्रीका अनुसार यमनी नागरिकबाहेक मृतक सबैको शव आफन्तले बुझिसकेका छन् । यमनी नागरिकको हकमा शव व्यवस्थापनका लागि नेपालमा यमनको दूतावास नभएकाले यमनको दूतावास रहेको नजिकको मुलुकसँग सम्पर्क र समन्वय भइरहेको तथा शव व्यवस्थापनको खर्च सौर्य एयरलाइन्सले बेहोरेको छ ।

विमान दुर्घटनामा मृत्यु भएकालाई बीमा नीतिअनुसार सरल र सहज रुपमा उपलब्ध गराउन कम्पनीले प्रतिबद्धता जनाएको छ । बीमा नीति अतिरिक्त एयरलाइन्सबाट सात लाखको सामाजिक सुरक्षा कोषसमेत रहेको छ ।

हवाई नीति–२०६३ का अनुसार प्रेसराइज वायुयान १५ वर्षभन्दा पुरानो आयात गर्न प्रतिबन्ध लगाइएको अवस्थामा सौर्य एयरलाइन्सको विमान सो अवधिभन्दा मुनिको रहेको कम्पनीले जनाएको छ । नेपालले सन् २०१८ मा यात्रु बीमासम्बन्धी मन्ट्रियल सन्धि अनुमोदन गरिसकेको र उक्त व्यवस्था अन्तर्राष्ट्रिय हवाई यात्रुमा मात्रै लागू हुने भएकाले आन्तरिक उडानका लागि यात्रुको बीमा कम भएकाले आन्तरिक उडानका लागि बीमा विधेयक तर्जुमाको काम अगाडि बढिसकेको पर्यटनमन्त्रीले जानकारी दिए । हाल आन्तरिकमा यात्रु उडानका लागि रु २० हजार अमेरिकी डलर बीमा व्यवस्था गरिएको छ ।

एयरलाइन्सकातर्फबाट मृतकका परिवारलाई थप सुविधा उपलब्ध गराउन एयरलाइन्सका पदाधिकारीसँग छलफल गरिएको र कम्पनीकातर्फबाट सम्भव भएसम्म योग्यताका आधारमा रोजगारीको प्रबन्ध गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्री पाण्डेले बीमा रकम सहज तवरले यथाशीघ्र उपलब्ध गराउन सौर्य एयरलाइन्सलाई निर्देशन दिइसकिएको बताए ।

सौर्य एयरलाइन्सको सिआरजे ७ (९एन–एएमइ) कलसाइन विमान यही साउन ९ गते स्थानीय समयअनुसार बिहान ११ बजेर ११ मिनेटमा पोखरा उडानका क्रममा उड्नेबित्तिकै दुर्घटना भएको थियो । चालकदलसहित १९ जना सवार उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ०२ बाट उडान गर्नेबित्तिकै दाहिने मोडिन गई धावनमार्गको पूर्वतिर रहेको स्थानमा दुर्घटना हुँदा १८ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको छ ।

विमान दुर्घटनामा घाइते भएका क्याप्टेन मनिषरत्न शाक्यको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । हाल उनको स्वास्थ्यावस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै