• २०८१ मङ्सिर ९ आइतबार

महामन्त्री गगन थापा, गुटबाट बाहिर कहिले आउने ?

kharibot

काठमाडौँ । नेपाली काँग्रेस प्रतिपक्षमा पुगेको चार महिनामै सत्तामा फर्किएको छ । देशको सबैभन्दा ठुलो प्रजातान्त्रिक पार्टी काँग्रेसमा गुट उपगुट अपरिहार्य जस्तै बनेको छ ।

स्थानीय तहदेखि नै नेता पिच्छेका गुट हुदै केन्द्रमा स्पष्ट दुई गुट रहेको छ । संस्थापन पक्षको नेतृत्व सभापति शेरबहादुर देउवाले गरिरहेका छन् भने अर्को गुटको नेतृत्व डा. शेखर कोइरालाले गरिरहेका छन् । जब जब कांग्रेस सत्तामा पुग्छ तब संस्थापन इतर पक्ष आफ्नो भाग माग्न गुटको बैठक बसेर हामीलाई यति मन्त्री चाहियो, यति भाग चाहियो भन्ने माग संस्थापन पक्षमा राख्ने कांग्रेसमा वैधानिक व्यवस्था जस्तै भएको देखिन्छ ।

अहिले एमालेसँग सत्तामा सहकार्य गरेको कांग्रेसमा शेखर कोइराला गुट आफ्नो भाग नपाएर असन्तुष्ट भएको बताइएको छ । केन्द्रमा कांग्रेसले पाएका १० मन्त्रालयमा शेखर समुहले ३ मन्त्रालय मात्र पायो । त्यस्तै प्रदेशमा सभापति देउवाले एकलौटी गरेको आरोप लगाउदै असन्तुष्टि व्यक्त गरिएको छ । अझ रमाइलो कुरा त शेखर समुहले सभापति देउवासँग कोशीमा २, वागमतीमा ३, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदुरपश्चिममा १ गरी ७ प्रदेशमा ११ जना मन्त्री आफ्नो गुटलाई दिनुपर्ने माग राखे रे देउवाले त्यस मागलाई बेवास्ता गरिदिए ।

कांग्रेस सत्तामा गएको बेला यो अभ्यास सामान्य नै देखिन्छ । हरेक पटक यो कांग्रेस वृतमा देखिने दृश्य हो । तर यो सबै घटनाक्रममा नमिलेको र नभएको भए हुन्थ्यो भन्ने दृश्य महामन्त्री गगन थापाको भूमिका हो । पार्टीको निर्वाचित महामन्त्री गुटको भेलामा खटेर लागेको देखिनु कांग्रेसजनलाई खट्किने विषय बनेको हुनुपर्छ ।  महामन्त्री नै भाग खोजेर हिड्नु पर्ने अवस्था आएपछि पार्टीमा उनको भूमिका कस्तो होला । युवा र प्रभावशाली नेताको छबी बनाएका गगन थापा महामन्त्री बनेर गुटको भेलामा गएको सुहाएकै छैन । हो नेता कार्यकर्ताको व्यवस्थापन गर्न संस्थापन पक्षसँग लड्नु पर्छ नै ।  नेताहरुले त्यति सजिलै भाग दिदैनन् तर त्यो भन्दैमा निर्वाचित पदले नै गिज्याउने गरि फोटो खिचाएर महामन्त्रीले गुटको भेला गर्न मिल्छ ? अब कांग्रेस कार्यकर्ताले प्रश्न गर्न सक्नु पर्छ ।

तुलनात्मक रुपमा अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई गुटको भेलामा सार्बजनिक रुपमा देखिदैन र उनले महामन्त्री पदलाई गुटको भेलामा सार्बजनिक नभएर इज्जत र सम्मान दिएका छन् । गगनले यो कुरा किन नसिकेको ?

पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्ने महत्वकांक्षा बोकेका महामन्त्री थापाले अब गुटको भेला भन्दा बाहिर उठ्ने समय आएको छ । उनले लामो समयदेखि नेपालको राजनीतिमा भूमिका खेल्दै आएका छन् । खासगरी गणतन्त्र ल्याउन उनले खेलेको भूमिका, कांग्रेसलाई संबैधानिक राजतन्त्रबाट राजा बिनाको गणतन्त्रसम्म ल्याउन उनको भूमिका छ ।  आम कांग्रेस कार्यकर्ताको लोकप्रिय मत पाएर महामन्त्रीमा निर्वाचित भएपछि उनले नछोडेको गुटको मोहले उनलाई हरेक दिन कमजोर बनाइरहेको महसुस भएको छ । अझ गुटबाट भाग मागेको त सुहाएकै छैन । अब गगन थापाले भन्न सक्नु पर्छ, म गुटभन्दा माथि छु, एक्लै लड्छु तर गुटका लागि भाग माग्दिन ।

गुट व्यवस्थापन गरेर नयाँ सन्देश दिन्छकी भन्ने  नेता नै गुटको भेलामा गएर भाग मागेको दृश्यले कांग्रेस नेता कार्यकर्तामा कस्तो सन्देश गएको होला, अब उनले विश्लेषण गर्ने समय आएको छ । यस अघि गिरिजाप्रसाद कोइराला, सुशील कोइरला सभापति हुदा देउवाले जे गरे अहिले महामन्त्री भएर पनि गगन थापाले त्यहि नै गर्ने भए गगन थापा किन चाहियो, देउवा नै छदै छन् र यस अर्थमा कांग्रेसका लागि गगनभन्दा देउवा नै सहि पनि छन् । १-२ पटक सत्तामा भाग नमागेर हेर्दा के हुन्छ, गगनले त्यति धैर्यता किन राख्न सक्दैनन् ?  

युवा नेताहरुले पार्टी र कार्यकर्तालाई अहिलेका नेताहरुले भन्दा फरक काम र व्यवहारले सन्देश दिनेभन्दा भाषणमा पाका नेताहरुलाई गाली गर्ने र व्यवहारमा तिनै नेताहरुले जे गरिरहेका छन्, त्यसलाई अक्षरस पछ्याउने गर्दा कांग्रेसले नयाँ नेता कहिले जन्माउछ ? भन्ने प्रश्न उठिरहेको छ ।

यसअर्थमा गगन थापा गुटमा लागेको उनको महामन्त्री पदले गिज्याइरहेको छ ।  उनलाई सभापतिले गुटबन्दी गर्ने मैले किन नगर्ने भन्ने छुट छैन । आफ्नो पदीय जिम्मेवारी र भूमिकालाई बिर्सेर गगनले महामन्त्री पदलाई मात्र कमजोर बनाएका छैनन्, उनले आफ्नो राजनीतिक भूमिकालाई गुटमा सिमित गरेका छन् ।  
 
           

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै