• २०८१ असार १२ बुधबार

मार्सी रोपाइँको चटारोमा जुम्ली किसान

kharibot

फाइल तस्बीर

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका किसान हाल मार्सी धान रोपाइँमा व्यस्त छन् । मार्सी जुम्लामा मात्र उत्पादन हुने गरेको छ ।

तातोपानी गाउँपालिकाका स्थानीयवासी लक्ष्मी कार्कीका अनुसार जेठको पहिलो सातादेखि असारको दोस्रो साता सम्म जिल्लाभर मार्सीको रोपाइँ हुने गरेको छ । केही समय यता मार्सी चामलको माग बढेपछि किसान उत्साहित भएर यसको खेतीमा लागेका छन् ।

जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि यसको खेति बर्सेनि बढेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली र रातो मार्सी रोपाइँ सकिएको गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताए ।

जिल्लाका प्रसिद्ध चन्दननाथ, भैरवनाथ मन्दिरका नाममा रहेका शेरा ज्युलोमा मार्सी रोपाइँ सम्पन्न भएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमर थापाले बताए । पहिले चन्दननाथ बाबाको शेर जिउलोमा रोपाइँ भएपछि मात्र जिल्लाका अन्य ठाउँका ज्युलहरु रोपाइँ हुन्थ्यो तर हाल त्यो प्रचलन हराउँदै गएको छ । चन्दननाथमा चढाउन पनि मार्सी धान रोप्ने गरिन्छ ।

जिल्लाको एक हजार दुई सय हेक्टरमा मार्सी धानखेती हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । सरकारले मङ्गलबार सङ्घीय सभामा प्रस्तुत गरेको बजेटमा जुम्लाको हिमा र तिला आसपासको क्षेत्रलाई मार्सी धान करिडोर विकासका लागि नयाँ परियोजना समेटेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै