• २०८१ बैशाख १६ आइतबार

नारायण मूर्तिले नातिलाई दिए इन्फोसिसको २४० करोड बराबरको शेयर उपहार

kharibot

काठमाडौँ । भारतको चर्चित टेक कम्पनी इन्फोसिसका सह-संस्थापक नारायण मूर्तिले आफ्नो ४ महिनाको नाति एकग्रा रोहन मूर्तिलाई २४० करोड भारु बराबरको शेयर उपहार दिएको विषय अहिले चर्चाको विषय बनेको छ । मूर्तिले आफ्नो नातिलाई कम्पनीको १५ लाख शेयर दिएका छन्, जुन ०.०४ प्रतिशत सेयर बराबर हो ।

शेयर उपहार दिएपछि, इन्फोसिसमा नारायण मूर्तिको शेयर अब ०.४० प्रतिशतबाट ०.३६ प्रतिशतमा घटेको छ । कम्पनीले सोमबार बम्बे स्टक एक्सचेन्ज यो जानकारी दिएपछि यसको खुलासा भएको हो ।

करिब चार महिनाअघि नोभेम्बर १० मा नारायण मूर्तिका छोरा रोहन मूर्ति र बुहारी अपर्णा कृष्णन आमाबुवा बनेका थिए । त्यसपछि नारायण मूर्तिले आफ्नो नातिको नाम एकग्रा राखे । नारायण मूर्ति र सुधा मूर्तिका दुई नातिनीहरू पनि छन्, जसको नाम कृष्णा सुनक र अनुष्का सुनक छन् । दुवै युवती बेलायती प्रधानमन्त्री ऋषि सुनक र अक्षता मूर्तिकी छोरी हुन् ।

जनवरीमा नारायण मूर्तिले परिवारलाई कम्पनीबाट अलग राख्नु गलत निर्णय भएको बताएका थिए । उनले भनेका थिए, ‘मलाई कर्पोरेट गभर्नेन्स भनेको परिवारलाई यसमा नलाग्नु हो भन्ने लाग्थ्यो । किनभने त्यसबेला अधिकांश व्यवसाय परिवारको स्वामित्वमा थिए, जसमा परिवारका छोराछोरी आएर कम्पनी चलाउने गर्दथे । यसमा कर्पोरेट नियमको घोर उल्लङ्घन भएको थियो ।'

मूर्तिलाई सोधियो कि उनका छोरा रोहन मूर्ति हार्वर्डमा पढेका छन् । यदि उनले तपाईंलाई भोलि इन्फोसिसमा सामेल हुन खोजे भने तपाईं के गर्नुहुन्छ ? यसको जवाफमा मूर्तिले भने, ‘रोहन मभन्दा आफ्नो सिद्धान्तमा बढी दृढ छन् । उसले त्यो कहिल्यै भन्दैनन् । रोहन मूर्ति ४० वर्षका छन् । उनले हार्वर्ड विश्वविद्यालयबाट पीएचडी गरेका छन् । उनी एउटा सफ्टवेयर फर्मका मालिक पनि हुन् । उनको कम्पनीले डाटा प्रोसेसिङको काम गर्छ ।'

नारायण मूर्तिले सन् १९८१ मा भारतको दोस्रो ठूलो टेक फर्म इन्फोसिसको स्थापना गरेका थिए । त्यसबेलादेखि २००२ सम्म उनी कम्पनीको सीईओ थिए । त्यसपछि उनी सन् २००२ देखि २००६ सम्म बोर्डको अध्यक्ष थिए ।

अगस्ट २०११ मा, मूर्तिले अध्यक्ष इमेरिटसको उपाधिका साथ कम्पनीबाट सेवानिवृत्त भए । तर, उनी फेरि २०१३ मा कम्पनीमा कार्यकारी अध्यक्षका रूपमा प्रवेश गरे । यस अवधिमा उनका छोरा रोहन मूर्ति कार्यकारी सहायकको रूपमा कार्यरत थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै