काठमाडौँ । भारतीय क्रिकेटर ऋषभ पन्त आइपिएल खेल्ने विषयमा अन्योलता बढेको छ । उनले भारतको नेशनल क्रिकेट एकेडेमीबाट फिटनेस क्लियरन्स नपाएपछि उनले आइपिएल खेल्ने विषय अन्योलमा रहेको हो ।
दिल्ली क्यापिटल्सले पन्तको फिटनेस रिपोर्ट मागेकोमा राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) का विज्ञहरूले पन्त अहिलेसम्म खेल्नका लागि तयार नभएको बताइरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
आइपिएल टिम दिल्ली क्यापिटल्सले फिटनेस क्लियरन्स नपाएका कारण ऋषभ पन्तलाई आफ्नो टोलीमा समावेश गरेको छैन । तर, टिम व्यवस्थापनले बीसीसीआईलाई पन्तलाई अतिरिक्त खेलाडीको रुपमा टोलीमा राख्न अनुरोध गर्न सक्ने बताइएको छ ।
दिल्ली क्यापिटल्स (डीसी) क्रिकेट निर्देशक सौरभ गांगुलीले एक अन्तर्वार्तामा पन्त फिट रहेको र आईपीएल खेल्न सक्ने बताएका थिए ।
दिल्ली क्यापिटल्सका सह-मालिक पार्थ जिन्दलले पनि पन्तले आईपीएलका प्रारम्भिक खेल खेल्ने बताएका थिए । उनले पहिलो हाफमा विकेटकिपिङ नगर्ने र ब्याटिङ मात्र गर्ने उनले बताएका थिए ।
सन् २०२२ को डिसेम्बरमा बंगलादेशविरुद्धको टेष्ट सिरिज खेलेपछि पन्त क्रिकेटबाट टाढा छन् । ३१ डिसेम्बर २०२२ मा दिल्लीबाट रुड़की जाँदै गर्दा उनी कार दुर्घटनामा परेका थिए । त्यसपछि उनको दाहिने खुट्टाको घुँडाको तीनवटा शल्यक्रिया गरिएको थियो ।
पन्तले गत हप्ता बैंगलोरमा एनसीएले आयोजना गरेको अभ्यास खेलमा खेलेका थिए । यसमा उनले ब्याटिङ गरेका थिए ।
पन्तले केही दिनअघि इन्स्टाग्राममा विकेटकिपिङ र एक्सरसाइज गर्दै गरेको भिडियो पोस्ट गरेका थिए । एनसीएको २० ओभरको प्रशिक्षण खेलमा पनि उनी ब्याटिङ र फिल्डिङमा देखिएका थिए । दिल्ली क्यापिटल्सले यस सिजनको आइपिएलको पहिलो खेल मार्च २३मा पञ्जाव किंग्सविरुद्ध खेल्दै छ ।









