• २०८१ बैशाख १६ आइतबार

राप्ती नदी सिधनिया घाटमा पुल निर्माण गरिँदै

kharibot

खजुरा (बाँके)। हुलाकी राजमार्गअन्तर्गत बाँकेको राप्ती नदी सिधनिया घाटमा सात सय मिटर लामो पुल निर्माण सुरु भएको छ ।

नेपालगञ्ज–बघौडा हुलाकी सडकको सिधनिया घाटमा हाल प्रयोगमा रहेको पुल साँघुरो, वर्षामा बाढीको जोखिम हुने भएपछि पक्की र लामो पुल निर्माण थालिएको हो ।

वर्षामा आवागमन ठप्प हुने तथा अन्य समयमा पनि समस्या हुने भएकाले सात सय मिटर लामो र ११ मिटर चौडाइको नयाँ पुल निर्माण सुरु गरिएको हो ।

करिब डेढ वर्षअघि भौतिक पूर्वाधारमन्त्री भएको बेला नेता मोहम्मद इश्तियाक राईले राप्ती नदीको सिधनिया घाटमा र डुडुवा खोलामा पुल निर्माण तथा विभिन्न सडक निर्माणको योजना स्वीकृत गरेका थिए । सोही योजनाअनुसार अहिले पुल निर्माण सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ ।  

विसं २०८४ असार मसान्तसम्ममा सम्पन्न गर्नेगरी विसं २०७९ माघमा सम्झौता भएको निर्माण कम्पनीका इन्जिनियर राजेश पटेलले बताए ।

उनका अनुसार अहिले निर्माण भइरहेको पुलको दुवैतर्फ एक दशमलव ७५ मिटर फुटपाथ निर्माण गरिने छ । भ्याटसहित रू एक अर्ब २० करोडमा ठेक्का सम्झौता भएको थियो । निर्माणाधीन पुलको पाइलिङ र जाली बुन्ने काम भइरहेको इन्जिनियर पटेलले जानकारी दिए ।  

सिधनिया घाटमा रहेको पुल साँघुरो र छोटो भएकाले लामो पुल निर्माण गर्न लागिएको पूर्वमन्त्री राईले बताए। 

अहिले सञ्चालनमा रहेको पुलबाट एउटा गाडीमात्र ओहोरदोहोर गर्न मिल्ने भएकाले यहाँका जनताले लामो र आधुनिक पुलको माग गर्दै आएका उनको भनाइ छ । 

यसअघि बाढी बग्ने ठाउँमा सडक भएकाले हरेक वर्ष आउने बाढीले सडकका साथै कल्भर्टसमेत बगाउने गरेकामा पुल बनेसँगै समस्या अन्त्य हुने स्थानीय बताउँछन् ।

उक्त पुल निर्माण सम्पन्न भएपछि नदीपारिका राप्ती सोनारी र नरैनापुर गाउँपालिकालाई आवागमनमा सहज हुने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै