• २०८१ बैशाख १६ आइतबार

पत्रकारितालाई व्यावसायिक र समृद्ध बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री शर्मा

kharibot

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएकि छिन् ।

नेपाल टेलिभिजनको ३९औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रसारणका रुपमा विकास गरिने बताइन् । 

“विगतमा सरकारी स्वामित्वका सञ्चार माध्यमलाई एकोहोरो सरकारको प्रचारकका रुपमा मात्र बुझिन्थ्यो भने अब यसखालको कार्यशैलीमा परिवर्तन गर्न खोजिरहेका छौँ”, उनले भनिन् ।

उनले सरकारी सञ्चारमाध्यम सरकारी सूचना सन्देश प्रकाशन÷प्रसारण गर्ने एकोहोरो प्रचारक मात्र नभइ राज्यका सूचना, सन्देश र कार्य जनताको बीचमा लैजाने र जनताको आवाज र अपेक्षा राज्यसम्म पुराउने दोहोरो माध्यमका रुपमा रहेका बताइन् । 

आमसञ्चार क्षेत्रको पुनःसरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानुनी व्यवस्थाबारे सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरिएको र सो समितिको प्रतिवेदनलाई मुख्य आधार बनाइ नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार पारिएको उनको भनाइ थियो ।

उनले आमसञ्चार नीति, २०७३ र सङ्घीय संरचना तथा अभ्यासबाट विकसित परिवेशअनुसार प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आमसञ्चारको क्षेत्रमा नीति र कानुन निर्माणमा जोड दिइएको बताइन् । 

मन्त्री शर्माले पत्रकारिता क्षेत्रले जनताको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्ने र हाल समाजमा देखापर्न खोजिरहेका उशृङ्खल र अराजक प्रवृत्तिलाई निरुत्साहित गर्ने खालका सामग्री उत्पादन तथा प्रसारण÷प्रकाशनमा जोड दिन आवश्यक रहेको बताइन् । 

नेपाल टेलिभिजनको समय सापेक्ष विकास, विस्तार एवं रुपान्तरणमा सरकार सदैव तत्पर रहेको जानकारी दिँदै उनले चार दशक लामो गौरवपूर्ण इतिहास बोकेको नेपाल टेलिभिजन आगामी दिनमा अझ सुदृढ र लोकप्रिय प्रसारण माध्यमका रुपमा स्थापित हुन सकोस् भनी कामना गरिन् । 

सूचना प्रविधिको विकास र आम दर्शकको बदलिँदो शैलीलाई ध्यान दिएर हातहातमै टेलिभिजन हेर्ने व्यवस्था नगरे टेलिभिजनको पहुँच विस्तार गर्न कठिन रहेको उल्लेख गर्दै मन्त्री शर्माले चुस्त र स्वच्छ व्यवस्थापनबाट सञ्चालन लागतलाई प्रभावकारी बनाई सेवा प्रवाहमा गुणस्तरीयता ल्याउन आग्रह गरिन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले गलत सूचनाबाट समुदायमा पर्नसक्ने नकारात्मक असर कम गर्न टेलिभिजनले भूमिका खेल्नुपर्ने बताए ।

जनमानसलाई सुसूचित गर्दै जिम्मेवार पत्रकारिता गर्नु नेपाल टेलिभिजनको जिम्मेवारी भएको उल्लखे गर्दै उनले संविधानले अङ्गीकार गरेको समावेशीतालाई साकार पार्न टेलिभिजन क्रियाशील हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा लामो समयसम्म अविछिन्न सेवा गर्ने कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै