• २०८१ बैशाख २१ शुक्रबार

सौराहामा दक्षिण एसियाली चलचित्र महोत्सव हुने

kharibot

चितवन । सौराहामा दक्षिण एसियाली चलचित्र महोत्सव हुने भएको छ। क्याराभान नेपालको आयोजनामा रत्ननगर नगरपालिका ७ स्थित चित्रसारी खेल मैदानमा यही माघ १८ देखि महोत्सव सुरु हुन लागेको हो ।

नेपाली चलचित्रको विकास र चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सव आयोजना गरिएको शनिबार  पत्रकार सम्मेलन गरेर क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पौडेलले बताए । उनले भने, ‘नेपाली चलचित्र र चलचित्रका माध्यमबाट चितवनसहित नेपालको पर्यटन विकासमा सहयोग पुर्याउन अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सव आयोजना गरिएको छ ।’

महोत्सवमा चलचित्र, पर्यटन तथा स्थानीय परम्परागत खानाका गरी एक सय बढी स्टल रहने जनाइएको छ। महोत्सवको ५० हजार दर्शकले अवलोकन गर्ने, एक करोड ५० लाखको कारोबार हुने अनुमान र अपेक्षा गरिएको छ। पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा चलचित्र र पर्यटन विकासका लागि राज्य र निजीस्तरबाट गर्नुपर्ने पहलका बारेमा सूक्ष्मरूपमा छलफल र बहस गरी नीतिगत सुधारका लागि सरकारको ध्यानाकर्षण गराइने पौडेलले बताए ।

रत्ननगर नगरपालिकाको मुख्य सहयोगमा सञ्चालन हुने सो महोत्सवमा आठ राष्ट्रका चलचित्रकर्मीको उपस्थिति तथा दक्षिण एसियाली क्षेत्रका नवीनतम् कला सृजनालाई अवसर प्रदान गर्ने, सांस्कृतिक आदानप्रदानलाई बढावा दिने र दक्षिण एसियाली कथाकथनको समृद्धिको उत्सवका रूपमा कथानक चलचित्र, वृतचित्र, लघुचलचित्रबीच प्रतिस्पर्धा गराइने छ।

महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन र उत्कृष्ट लेखन विधामा तीनवटा चलचित्रलाई अवार्ड प्रदान गरिने छ ।

महोत्सवमा नेपाली चलचित्र, वृत्तचित्र तथा सर्टफिल्म अवार्ड वितरण, सार्कस्तरका चलचित्रको प्रदर्शन, चलचित्रकर्मीको जीवनीसम्बन्धी साक्षात्कार, नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार र पर्यटन विकाससम्बन्धी अन्तक्र्रिया, कलाकार र राजनीतिक दलका प्रतिनिधि, पूर्वी र पश्चिम चितवनका खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिने चलचित्र निर्माता संघका सचिव तथा महोत्सव मूल समारोह समितिका निर्देशक किसान पोखरेलले जानकारी दिए ।

महोत्सव मूल समारोह समितिका सहसंयोजक तथा सौराहाका व्यवसायी गोकर्ण गिरीले सौराहामा हुने अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सवले सुस्ताएको पर्यटनलाई चलायमान बनाउने बताए। क्याराभान नेपालले यसअघि वीरगञ्जमा स्वर्णिम चलचित्र महोत्सव तथा लुम्बिनीमा बुद्धको जीवनी र दर्शनसम्बन्धी फेस्टिबल गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै