• २०८१ बैशाख १६ आइतबार

बिटुमिन नहुँदा नारायणगढ बुटवल सडकको कालोपत्रको काम रोकियो

kharibot

प्रतिनिधि तस्बीर

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल खण्डमा पर्ने नवलपुरको सडकमा कालोपत्रको काम रोकिएको छ । कालोपत्रका लागि आवश्यक लकच्चा पदार्थ ‘बिटुमिन’ सकिएपछि काम रोकिएको नारायणगढ-बुटवल सडक विस्तार योजना पूर्वी खण्डले जनाएको छ । 

“यस खण्डमा आठ किलोमिटर सडक कालोपत्र गर्न मिल्ने गरी तयारी भइसकेको छ”, योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने, “भारतबाट आउनुपर्ने बिटुमिन भन्सारमा रोकिएको कारण कालोपत्रको काम हुन नसकेको हो ।” 

बिटुमिन आएलगत्तै कालोपत्र गर्ने गरी निर्माण व्यवसायी तयारी अवस्थामा रहेको भन्दै खनालले आठ किलोमिटर कालोपत्र गर्ने बेलासम्म थप आठ किलोमिटर सडक कालोपत्र गर्ने तयारीमा पुग्ने बताए । 

“अहिले सडकमा बेस र सब बेस (खनिएको सडकमा माटोले पुर्दै कालोपत्र गर्ने चरणमा पु¥याउने अवस्था)को काम तथा नाली निर्माण भइरहेका छन्”, उनले भने, “निर्माण कम्पनीको मासिक प्रगति विवरण हेर्दा अहिले दैनिक एक हजार तीन सय जना कामदार लगाएर सडक विस्तार भइरहेको पाएका छौँ ।” 

सडक निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सह–व्यवस्थापक राकेश झाले सडक कालोपत्र गर्न प्रयोग गरिने बिटुमिन भन्सारमा आइसकेको जनाए । “हाम्रो डण्डामा रहेको अक्सपाल्ट प्लान्टमा बिटुमिन सकिएर कालोपत्र गर्नका लागि अक्सपाल्ट निर्माण गर्न सकेका छैनौँ” उनले भने, “बिटुमिन भन्सारमा आइसकेको जानकारी पाएका छौँ, केही औपचारिकता पछि नेपाल भित्रिन्छ ।” बिटुमिन आएलगत्तै कालोपत्र सुरु हुने झाको भनाइ छ । 

अक्सपाल्ट प्लाण्टमा बिटुमिन आएपछि एकदुई दिन अक्सपाल्ट तताउन समय लाग्ने भन्दै झाले त्यसलगत्तै कामले तीव्रता पाउने बताए । अहिले कावासोती, प्रगतिनगरलगायतका ठाउँको सडकमा बेस र सब बेस राख्ने काम भइरहेको उनको भनाइ छ । दोस्रोपटक थप भएको म्याद सकिने बेला असार मसान्तसम्म ७० प्रतिशतभन्दा बढी सडक विस्तारको भौतिक प्रगति हुनेगरी काम भइरहेको झाको भनाइ छ । 

योजनाको पूर्वीखण्डमा पर्ने गैँडकोटको पुलचोकदेखि दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडकमा पहिले एकतर्फी कालोपत्र गर्ने गरी काम अगाडि बढाउन निर्माण पक्षलाई निर्देशन दिइएको खनालको भनाइ छ । “एकैपटकमा दुईतर्फी कालोपत्रको काम गर्दा यात्रामा समस्या देखिएकाले पहिले एकतर्फी कालोपत्र गरेर यात्रालाई सहज बनाउन निर्देशन भएको छ”, उनले भने, “यस वर्ष एकतर्फी कालोपत्रको काम सकाउने गरी निर्माण पक्ष लागेका छन् ।” पूर्वी खण्डमा हालसम्म २१ किलोमिटरमात्र एकतर्फी सडक निर्माण सकिएको उहाँको भनाइ छ । 

सडक विस्तारका क्रममा नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डमा निर्माण हुने १२ वटा मेजर ब्रिज (ठूला पुल)मध्ये दुई वटा पुल निर्माण सम्पन्न भएको छ । सूचना अधिकारी खनालका अनुसार झराही खोलाको पुल र कावासोती खोलाको पुल निर्माण सम्पन्न भएको हो । “निर्माण सम्पन्न भएका दुई वटा पुलमा सवारीसाधन सञ्चालनमा ल्याइएको छैन” उनले भने, “बाँकी १० वटा पुलमा फाउण्डेसन (जगको पिल्लर) निर्माण गर्ने काम सकिएको छ अब बिम राख्नमात्रै बाँकी छ ।” 

ठूला पुलको लागि पुलभन्दा बाहिरै सडकमा बिम निर्माण गरिएको उल्लेख गर्दै खनालले बिम उठाएर पुलको फाउण्डेसनमा लगेर जोड्ने क्रेन उपलब्ध नहुँदा बिम जोड्ने काम प्रभावित भएको बताए । “पुलभन्दा बाहिर बिम निर्माण गर्दा काम चाँडो हुने भएकाले निर्माण पक्षले सडकमा बिम निर्माण गरेको छ” उनले भने, “सबै पुलको बिम निर्माण भइसकेका छन्, क्रेन ल्याएर एकैपटकमा बिम राख्ने काम हुन्छ ।” यस खण्डमा निर्माण हुने २२ वटा माइनर ब्रिज (साना पुल)मध्ये २१ वटा पुल निर्माण सम्पन्न भएको भन्दै अरुणखोलामा पर्ने पुल निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए । 

यस खण्डमा पर्ने दाउन्नेमा पाँच किलोमिटर सडक भौगोलिक अवस्थाका कारण तीन लेनको हुनेछ भने अन्य ठाउँमा चार लेनमा सडक विस्तार भइरहेको छ । सहरी क्षेत्रमा भने अतिरिक्त दुई लेन सडक विस्तार गर्ने गरी काम अघि बढिरहेको छ । 

गैँडाकोट-दाउन्ने सडक खण्डमा पर्ने ६५ किलोमिटर खण्डको लागत रु नौ अर्ब १३ करोड १८ लाख ९५ हजार रहेको छ । एशियाली विकास बैंकको ८५ प्रतिशत ऋण सहयोगमा विसं २०७५ माघ २४ मा चीनको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग ठेक्का सम्झौता भएर सडक विस्तारको काम सुरु गरिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै