• २०८१ बैशाख १६ आइतबार

बढ्न थाल्यो चितुवाको त्रास

kharibot

तनहुँ । जिल्लाको व्यास नगरपालिकाको शिशाघाट साजामा केही दिनदेखि चितुवाको आतङ्क बढ्न थालेको छ । साँझपख र बिहानको समयमा चितुवा देखिनुका साथै पशुचौपाया मार्न थालेपछि स्थानीयवासी त्रासित भएका हुन् । 

व्यास–६ साजा, शिशाघाट क्षेत्रमा चितुवा आतङ्क बढ्न थालेको स्थानीय साजा टोल विकास संस्थाका सचिव कृष्ण ढुङ्गानाले बताए । उनका अनुसार केही दिनयता तीन बोका, चार बाच्छा र चार वटा कुकुर मारिसकेका छन् । टोलबस्तीमा चितुवा देखिन थालेपछि सतर्कता अपनाएर सुरक्षित हुन स्थानीयलाई अनुरोध गरिएको उनले बताए । 

बस्ती नजिकै घनाजङ्गल रहेकाले साँझ र बिहानको समयमा हिँड्डुल गर्न समस्या भोग्नुपरेको स्थानीय बताउँछन् । गाईबस्तु र बाख्रा चराउन जाँदा दिउँसोको समयमा पनि चितुवा भेटिने गरेको स्थानीयवासी बताउँछन् । 

डिभिजन वन कार्यालयसँग समन्वय गरी खोर राखेर नियन्त्रण गरिदिने विषयमा विषयमा छलफल भइरहेको ढुङ्गानाले जानकारी दिए । त्यसैगरी जिल्लाको बन्दीपुर गाउँपालिका–४ टुँडिखेल आसपास क्षेत्रमा चितुवा देखिन थालेपछि स्थानीयवासी त्रासित भएका छन् । 

साँझमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन सबैलाई आग्रह गरिएको टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले बताए । उनका अनुसार साँझपख बालबालिकालाई अस्पताल तथा टुँडिखेल मैदान वरपर जानबाट रोक्न अभिभावकलाई आग्रह गरिएको छ । 

चितुवाको आक्रमणबाट पछिल्लो छ वर्षमा १३ बालबालिकाले ज्यान गुमाइसकेका डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत काशीराज पण्डितले जानकारी दिए । धनजनको क्षति हुनबाट रोक्न चितुवाका लागि पासो थापेर नियन्त्रण गर्न सकिने उनको भनाइ थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै