काठमाडौँ । भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई मन्त्री पद छोड्न दबाब बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री ज्वाला बालकुमारी घटनामा विवादमा परेकाले फिर्ता लिन आग्रह गरेका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले सोमबार संसदको राज्य व्यवस्था समितिमा गृहमन्त्री र प्रहरी महानिरीक्षकले मन्त्री ज्वालाको भूमिकामा प्रश्न उठाएपछि अध्यक्ष नेपाललाई यस्तो आग्रह गरेका हुन् ।
पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटनामा दुई जनाले ज्यान गुमाउने गरि भएको घटनामा मन्त्री ज्वाला धेरै हदसम्म जिम्मेवार रहेको घटनाक्रमले देखाएपछि उनीमाथि पद छोड्ने दबाब बढेको छ ।
यसैबीच मन्त्री ज्वालाले आफूमाथि पद छोड्ने दबाब बढेपछि मंगलबार अध्यक्ष नेपालसहित प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका छन् । सो भेटमा मन्त्री ज्वालाले गृहमन्त्रीले आफुलाई निशाना बनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । सोमबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ र महानिरीक्षक बसन्तबहादुर कुवँरले संसदीय समितिमा मन्त्री ज्वाला गएपछि बालकुमारीको माहोल बिग्रेको भनाई राखेका थिए ।
मन्त्री ज्वालाले असन्तुष्टि व्यक्त गर्दै बिना कारण आफुलाई निशाना बनाइएको भन्दै सो घटनामा आफ्नो कुनै दोष नरहेको प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको स्रोतले बताएको छ ।
यद्यपी सोमबार राज्यव्यवस्था समितिले समेत बालकुमारी घटनामा श्रममन्त्री र गृहमन्त्रीको विषयमा पनि प्रश्न उठाएको भएपनि सो विषयमा भने प्रधानमन्त्री मौन रहेका छन् ।









