• २०८१ बैशाख १६ आइतबार

बालकुमारी घटनामा मारिएकाका आफन्त र गृहमन्त्रालयबीच लिखित सहमति

kharibot

काठमाडौं । बालकुमारी प्रदर्शनमा मारिएकाका परिवार तथा आफन्त र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच आज गृह मन्त्रालयमा भेटघाट भएको छ । आजैको मन्त्रीपरिषद बैठकले घटना छानबिनका लागि उच्चस्तरीय समिति बनाएको र गृहमन्त्री श्रेष्ठले राज्य व्यवस्था समितिको बैठकमा उच्चस्तरीय समितिको सुझाव तथा प्रतिवेदनबमोजिम दोषीलाई कार्वाही गरिने प्रतिबद्धता जाहेर गरेको परिस्थितिबीच उक्त भेटघाट भएको हो।

मृतकहरूको गृह जिल्ला दैलेख र अछामका तथा आसपास जिल्लाका  सांसद एवम् जनप्रतिनिधिसहित गृहमन्त्रालय आएका आफन्तलाई गृहमन्त्री श्रेष्ठले न्याय दिलाएरै छाडिनेमा आश्वस्त बनाएका छन् ।

त्यससँगै मृतकका परिवार र गृह मन्त्रालयबीच आज चारबुँदे लिखित सहमति समेत भएको छ । मृतकका परिवारका तर्फबाट अछामका विरेन्द्र शाहका बुवा टेकबहादुर शाह र दैलेखका सुजन राउतका मामा टेकबहादुर कटुवाल

तथा गृह मन्त्रालयका तर्फबाट उपसचिव उमाकान्त अधिकारीले हस्ताक्षर गरेको सहमतिपत्रमा अछामका सांसद शेरबहादुर कुँवर र पुष्पबहादुर शाह, दैलेखका सांसद दिक्पालकुमार शाही र अमरबहादुर थापा तथा अर्की सांसद दीपकुमारी शर्मा रोहबर बसेका छन् । 

चारबुँदे सहमति यस्तो छ:

१) मृतकका परिवारलाई, परिवारका सदस्यहरूसँगको सल्लाहमा ११ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने ।
२) सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने ।
३) मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशिघ्र अनुरोध गर्ने ।
४) मृतकका परिवारले आजै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुन्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै