• २०८१ बैशाख १६ आइतबार

हमासको अपहरणमा परेका वीपिनको रिहाइका लागि प्रयासरत छौँ : परराष्ट्रमन्त्री साउद

kharibot

दोधारा चाँदनी (कञ्चनपुर)। परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका वीपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन् ।

आज महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १७औँ वार्षिकोत्सवका अवसरमा मन्त्री साउदले सरकारले जोशीको रिहाइका लागि शाक्ति राष्ट्रहरुसँग निरन्तर पहल गरिरहेको बताए ।

“इजरायल सरकारसँग पनि वीपिनको रिहाइका लागि पटक–पटक आग्रह गरेका छौँ”, उनले भने, “प्यालेस्टाइनसँग राम्रो सम्बन्ध रहेको कतारसँग म आफै गएर त्यहाँका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु ।” उनले दोस्रो युद्ध विराममा वीपिनको रिहाइ हुनेमा आश्वस्त पारे । 

त्यस अवसरमा वीपिनका आमाबुबाले मन्त्री साउदसँग भेट गरी वीपिनको जीवनरक्षाका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

“कतारले दोस्रो युद्ध विरामका लागि आफूहरु प्रयासरत रहेको जवाफ दिएको छ दोस्रो युद्ध विराममा वीपिन सकुशल फर्किने अपेक्षा छ”, उनले भने, “पहिलो चरणमा महिला र बालिबालिका प्राथमिकतामा परेको र अब वीपिनको रिहाइ हुनेमा आशावादी छौँ ।” उनले नेपाली विद्यार्थीले इजरायलमा ज्यान गुमाउनु परेको भन्दै दुःख व्यक्त गरे ।

मन्त्री साउदले अहिले छिमेकीसँगको सम्बन्ध समेत सन्तुलित रुपमा अघि बढिरहेको दाबी गरे । “अन्तर्राष्ट्रिय सम्बन्धमा पनि अत्यन्तै कटुटता आएको जस्तो देखिन्थ्यो”, मन्त्री साउदले भने, “परराष्ट्र नीति छमेकीहरुलाई प्राथमिकता दिएर सन्तुलित रुपमा अघि बढिरहेको छ ।” 

मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमण भएपछि १० वर्षमा १० हजार मेगावाट विद्युत नेपालले भारतलाई बिक्री गर्ने र २५ वर्षसम्म भारतले विद्युत् खरिद गर्ने विषयमा दुईदेश बीचसम्झौता भएको उल्लेख गरे ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै