काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालको दोस्रो वर्ष ‘नयाँ धक्का’ दिएर सुरु गर्ने घोषणा गरेका छन् । ‘नयाँ धक्का’ बारे प्रधानमन्त्री प्रचण्डले थप स्पष्ट नगरे पनि उनले यसलाई क्रमभंग गर्ने भनेका छन् । प्रधानमन्त्री प्रचण्डले ‘नयाँ धक्का’ शब्दको प्रयोग गरेर राजनीतिमा तरंग त ल्याएका छन् तर यसलाई धेरै अर्थमा विश्लेषण गर्न शुरु गरिएको छ ।
आखिर एक बर्षमा राम्रो सन्देश दिने गरि काम गर्न नसकेका प्रधानमन्त्री प्रचण्ड अहिले आएर किन 'नयाँ धक्का' दिन खोजे ? भन्ने प्रश्न उठेको छ । के प्रधानमन्त्रीमाथि कांग्रेसले आफ्नो साथ छोड्दै छ ? के फेरी प्रधानमन्त्री प्रचण्ड एमालेको शरणमा जान लागेका हुन् ? के प्रधानमन्त्री प्रचण्डसँग कांग्रेस र एमालेलाई किनारा गरेर अगाडी बढ्ने विकल्प छ ?
राजनीतिक रुपमा सचेत मानिने कोशी प्रदेशको सुन्सरी पुगेका प्रधानमन्त्री दाहालले इनरुवा सबस्टेशनको रिबिन काटेपछि उत्साहित हुँदै भने– ‘प्रधानमन्त्री भएको एक वर्ष पूरा भएपछि नयाँ ढंगले केही धक्का दिएर सुरू गर्दैछु, म साँच्चै क्रमभंग गर्दैछु ।’
संसदीय निर्वाचनमा तेस्रो दलको हैसियत पाएको माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री बनेको पुस १० गते एक बर्ष पुग्दै छ । पहिलो दलको हैसियत पाएको नेपाली कांग्रेस र एमालेसँग चोइटिएर बनेको नयाँ दल नेकपा समाजवादी सहितको साथ लिएर उनी वर्षदिन देखि मिलिजुली सरकारको नेतृत्व गरिरहेका छन् ।
अब प्रधानमन्त्री प्रचण्डले दोस्रो वर्ष पनि आफ्नै नेतृत्वमा सरकारलाई निरन्तरता दिन नयाँ स्टेप चाल्ने संकेत गरेका छन् । अहिले राजनीतिक रुपमा तुरन्तै प्रचण्ड नेतृत्वको सरकार ढलिहाल्ने संकेत त देखिएको छैन तर यसको निश्चित आधार पनि अस्पस्ट देखिएको छ । प्रधानमन्त्री प्रचण्डले एकबर्षमा भ्रष्टाचारविरुद्ध फाइल खोलेको, अवैध सुन तस्करी, नक्कली भुटानी शरणार्थी प्रकरण र एनसेल शेयर बिक्री प्रकरणमा प्रधानमन्त्री प्रचण्ड भोकल रुपमा देखिएका छन् ।
सरकार संचालनमा खासै प्रभाव पार्न नसकेका प्रधानमन्त्रीले नयाँ धक्का दिने घोषणाले अर्को राजनीतिक चाल बाहेक आम जनतालाई यसको ठुलो अर्थ भने हुने देखिदैन । किनकी आम जनताको सरोकार भएका विषयहरु महंगी नियन्त्रणमा छैन, साना उद्योगीको पलायन रोकिएको छैन, विदेशी युवाको क्रम रोकिएको छैन, रोजगार र स्वरोजगारका कार्यक्रम सरकारले ल्याउन सकेको छैन, देशमा सुशासन छैन, यस्तो अवस्थामा एक बर्षदेखि सरकार चलाइरहेका प्रचण्डले कस्तो धक्का दिन खोजेका हुन् त ? यो धक्का आफु पदमा बसिरहने अर्को राजनीतिक चाल नै हुनसक्ने देखिन्छ ।
अब दोस्रो बर्षमा प्रचण्ड नेतृत्वको सरकारले निरन्तरता पाउछ या पाउदैन भन्ने विषय धेरै हदसम्म कांग्रेसले निर्धारण गर्नसक्ने दखिन्छ तर आफुले अप्रत्याशित निर्णय लिएमा कुनै पनि बेला प्रधानमन्त्री प्रचण्ड र एमालेको पुनर्मिलन सक्नेमा कांग्रेस नेतृत्व खासगरी सभापति शेरबहादुर देउवा सजक रहेका छन् ।
कांग्रेसभित्रको प्रतिपक्षी बेञ्चबाट सरकारको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने स्वर उठ्न शुरु भएको छ । वरिष्ठ नेता डा. शेखर कोइरालाले नै प्रचण्ड नेतृत्वको सरकारले काम गर्न नसकेको लगातार बताउदै आएका छन् । उनले प्रचण्डलाई लगातार साथ दिईरहदा कांग्रेस झनझन कमजोर हुँदै गएको तर्क गरिरहेका छन् ।
त्यसैगरी महामन्त्री गगन थापाले वरिष्ठ नेता कोइरालालाई नेपाली कांग्रेस संसदीय दलको नेतामा अघि सार्न प्रस्ताव गरिसकेका छन् भने र प्रचण्ड नेतृत्वको सरकार बदल्न तयार हुनुपर्ने भन्दै नेतृत्वमा दबाब दिईरहेका छन् । तर कांग्रेसको आन्तरिक समीकरण जे जसो भएपनि सभापति देउवाले चाहे मात्र कांग्रेस अहिले प्रचण्डको विकल्पमा जान सक्छ । तर सभापति देउवा प्रधानमन्त्री प्रचण्ड एमालेसँग फेरी जान नसक्ने अवस्थामाको सुनिश्चितता गरेर मात्र प्रचण्डमाथिको समर्थन फिर्ता लिने छन् भन्ने स्पष्ट नै छ । अहिले सरकार प्रचण्डको नेतृत्वमा भएपनि सत्ताको प्रमुख खेलाडी भएर देउवाले सरकार चलाइरहेको बुझ्न सहज नै छ । यस्तो अवस्थामा उनले तत्काल प्रचण्डमाथि अविश्वास गर्ने सम्भावना कम देखिन्छ ।
अहिले प्रचण्डले अब गियर चेञ्ज गर्ने, क्रमभंग गर्ने, नयाँ धक्का दिने जस्ता शब्दको प्रयोगले सत्ता समिकरणमा सबै कुरा ठिक छैन की भन्ने आशंका बढाएको छ ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो एक बर्षे कार्यकालको समिक्षा गरेको र सरकारमा सामेल मन्त्री परिवर्तन गर्ने त निश्चित नै देखिन्छ । यसका लागि उनले मन्त्रीहरुसँग वर्षदिनको प्रगति विवरण माग्दै राम्रो काम गर्न नसकेका मन्त्रीहरुलाई परिवर्तन गर्ने सन्देश दिइनै सकेका छन् ।
गत संसदीय निर्वाचनमा सहकार्य गरेको दल नेपाली कांग्रेसलाई झट्का दिएर एमालेसँग सत्ता सहकार्य गर्न पुगेका प्रचण्ड सभामुखको निर्वाचन सकिना साथै एमालेलाई झट्का दिएर फेरि कांग्रेससँग फर्किएका थिए । त्यसपछि उनको कार्यकाल अहिलेसम्म सामान्य रुपमा चलिरहेको छ तर अहिले अचानक नयाँ धक्का दिने घोषणा गरेर उनले आफु असुरक्षित रहेको संकेत गरेको बुझ्न सकिन्छ ।
अहिलेको सत्ता गठबन्धनमा कांग्रेस सभापति देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्रीका आकांक्षी छन् । उनीहरुले प्रचण्डपछि पालैपालो प्रधानमन्त्री बन्ने सहमति समेत गरेका छन् । सो सहमति अनुसार प्रचण्ड कम्तिमा २ बर्ष प्रधानमन्त्री बन्ने छन् भने त्यसपछि नेपाल र देउवा प्रधानमन्त्री बन्ने छन् । तर विदेशी दबाब, गठबन्धन दलका आन्तरिक समीकरणका कारण प्रधानमन्त्री प्रचण्ड दबाबमा आएको बुझ्न सकिन्छ । यसको अर्थ उनको सरकारबाट तुरुन्तै बहिर्गमन नभएपनि अबको उनको दोस्रो बर्षको कार्यकाल सहज नहुने भने सजिलै अनुमान गर्न सकिन्छ ।









