• २०८१ बैशाख १५ शनिबार

सूचना प्रविधि सम्मेलन गर्दै काठमाडौँ महानगरपालिका

kharibot

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आगामी चैतमा ‘सूचना प्रविधि सम्मेलन’ आयोजना गर्ने भएको छ । महानगरवासीलाई सरल, सहज र सूचना प्रविधिमा आधारित सेवा प्रदान गर्नका लागि सम्मेलन आयोजना गर्न लागिएको कामपाको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।  

कामपा सूचना प्रविधि समिति संयोजनसमेत रहनुभएका मानन्धरका अनुसार सम्मेलनमा आविष्कार, नवीनतम् सोच र प्रविधिलाई सम्मेलनमार्फत कसरी जोड्न सकिन्छ, युवा, साझेदार र अन्तर्राष्ट्रिय समुदायलाई कसरी सहभागी गराउन सकिन्छ भन्ने विषय मुख्यरुपमा रहनेछन् ।    

“जिम्मेवार, पारदर्शी, उत्तरदायी, सरकार बन्न कामपाले प्राप्त गरेका उपलब्धिलाई संस्थागत र सिकाइलाई प्रवद्र्धन गर्न, नयाँ आविष्कारलाई ग्रहण गर्न कामपाले नीति, योजना र कार्यक्रम बनाउनु पर्नेछ”, प्रवक्ता मानन्धरले भने, “सम्मेलनले दिएको निचोड र सिफारिसहरु, काठमाडौँका जनता र नागरिकलाई प्रविधिमा आधारित गुणस्तरीय सेवा दिन, सेवाग्राहीलाई डिजिटल आचरण विकास गर्न आवश्यक पर्ने नीति निर्माणको आधार हुनेछ ।”नागरिकले अपेक्षा गरेको सेवाका लागि सरकारको प्रतिबद्धता देखाउन सम्मेलनले भूमिका खेल्ने महानगरको विश्वास छ ।

नीतिमा, शासनमा, सेवामा, समुदायमा डिजिटल समावेशीकरण प्रवद्र्धन गर्दै यसको पहुँच सामाजिक क्षेत्र, निजी व्यवसाय, उद्योग, उद्यमशीलता र वाणिज्य क्षेत्रमा समेत पुग्ने र साझेदारी विकास हुनेछ । सम्मेलनबाट यसका रणनीति तथा कार्यक्रम निर्माण हुनेछन् । यी विषयलाई सम्मेलन आयोजनाको उद्देश्यका रुपमा राखिएको छ ।  

शासन सञ्चालन गर्न तथा सेवा प्रदान गर्न सरकारले प्रयोग गरेका प्रविधि, सेवाग्राहीमा यसको पहुँच र प्रयोग, साझेदार सरकार तथा कार्यालयबीचको अन्तरसम्बन्ध, प्रविधि प्रयोग तथा विस्तार सम्मेलनका प्रस्तुतीकरण तथा छलफलका विषय रहने बताइएको छ ।

प्रविधिले प्रदान गरेका परिवर्तित अवसरमा वर्तमान सम्भावनाजस्ता विषयमा विशेषज्ञ र साझेदारहरूबीच समूहगत छलफल तथा अन्तरक्रियात्मक कार्यशाला सम्मेलनका कार्यक्रममा समेटिने बताइएको छ । प्रविधिहरूको व्यावहारिक प्रयोग, पेसाकर्मी, उद्यमी, युवा तथा सरकारी संयन्त्रका बीच क्षेत्रगत सञ्जाल निर्माण (नेटवर्किङ) को अवसर सिर्जना गरिनेछ । 

सम्मेलनबाट कामपाले सरकार र प्रविधि प्रदायकहरू बीचको साझेदारी नजिक हुनाका साथै एकीकृत र कार्यान्वयनयोग्य दस्तावेज प्राप्त हुने विश्वास लिएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै