• २०८१ बैशाख १६ आइतबार

समानुपातिक बन्दसूचीमा नाम भएका राष्ट्रियसभामा उम्मेदवार बन्न नपाउने

kharibot

काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ बन्दसूचीमा रहेका व्यक्ति राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार हुन नपाउने भएका छन् ।

समानुपातिक बन्दसूचीमा नाम भएका व्यक्ति राष्ट्रियसभामा उम्मेदवार बन्न नपाउने निर्वाचन आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचनमा गत आम निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक उम्मेदवार भई बन्दसूचीमा नाम समावेश रहेका व्यक्तिहरु उम्मेदवार बन्न नपाउने जनाएको हो ।

आयोगका सहायक प्रवक्ता एवं उपसचिव सूर्यप्रसाद अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र सोही दफाहरूको उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने बताए ।

उनले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको समेत जानकारी दिए । स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आगामी पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ । प्रकाशित मतदाता नामावली उपर दाबी विरोध लगायतका कार्यहरू सोही दिनबाट प्रारम्भ भई पुस २२ गते सम्पन्न हुनेछ र सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगले जनाएको छ । मतदाता नामावली आयोगको वेबसाइट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुनेछ ।

त्यस्तै, पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखिएको छ । पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २६ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने, सोही दिन दिउसो २ अन्तिम नामावली प्रकाशन गरिने छ ।

उम्मेदवारलाई निर्वाचन चिन्ह पुस २८ गते १० बजेदेखि १ बजेसम्म उपलब्ध गराउने कार्यक्रम रहेको छ । माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम राखिएको छ । मतदान कार्य सम्पन्न भएपछि सोही दिनै मतगणना कार्य हुने आयोगले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय