काठमाडौँ । ब्राजिलका युवा फरवार्ड भिनिसियस जुनियर घाइते भएका छन् । २३ बर्षिय भिनिसियस ब्राजिलको विश्वकप छनौट अन्तर्गत कोलम्बियाविरुद्धको खेलमा घाइते भएपछि कम्तिमा २ महिना मैदान बाहिर रहने भएका हुन् ।
रियल म्याड्रिडले भिनिसियस जुनियरलाई हाम्सट्रीङ इन्जुरी भएको जानकारी दिएको छ ।
यो इन्जुरीपछि भिनिसियस ८ देखि १० साता मैदान बाहिर रहने भएका छन् । उनी अब २०२४ को जनवरीमा मात्र मैदानमा आउने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
भिनिसियसको इन्जुरीपछि ब्राजिलको राष्ट्रिय टिम र रियल म्याड्रिड दुवैलाई झट्का लागेको छ । ब्राजिलका सुपरस्टार नेइमार पनि इन्जुरीका कारण बाहिर रहेका बेला भिनिसियसको इन्जुरीले राष्ट्रिय टिमलाई झट्का लागेको हो ।
त्यस्तै रियल म्याड्रिड पनि खेलाडीको इन्जुरीका कारण संकटमा परेको छ । यसअघि जुडे बेलिङघम इन्जुरीका कारण बाहिर रहेकै बेला भिनिसियस पनि मैदान बाहिर रहेपछि रियल म्याड्रिडको संकट बढेको हो ।









