• २०८३ कार्तिक २६ बिहीबार

गाजाका ७ दर्दनाक घटना

गाजाका ७ दर्दनाक घटना

काठमाडौँ । इजरायलले गाजामा लगातार आक्रमण गरिरहेको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका र महिला रहेका छन् । गाजा बालबालिकाको चिहान बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

गाजामा इजरायलको आक्रमणमा देखिएका दर्दनाक घटनाले पनि विश्वको ध्यान खिच्न सकेको छैन । अहिलेसम्म इजरायलको आक्रमणमा गाजामा ९ हजार भन्दा बढीको मृत्यु भएको छ । जसमा ४८ सय बालबालिका र २५ सय महिला रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

यस रिपोर्टमा गाजामा इजरायलको आक्रमणपछिका यस्ता ७ दर्दनाक घटना उल्लेख गर्दै छौं जुन हृदयविदारक मात्र छैनन्  अमानवीय पनि देखिन्छन् । 

१- ४ वर्षकी छोरीको हात काटियो...

देइर अल-बालाह सहरको अल-अक्सा अस्पतालमा शरण लिएका एडम अल-मदौनले भने- हाम्रो घर पहिले नै ध्वस्त भइसकेको थियो, त्यसैले हामी अस्पतालमै बसिरहेका थियौं । अचानक बमबारी भयो, छत हामीमाथि खस्यो । मेरी ४ वर्षकी छोरी केन्जीको हात काटिएको थियो, उनको खुट्टामा पनि चोट लागेको थियो, उनको टाउको फुटेको थियो र धेरै भाँचिएको थियो । होश आएपछि उनी रोइरहेकी थिइन् । हातमा के भयो भनेर सोधिन् । उसलाई दिने मसँग कुनै जवाफ थिएन ।

२- चार तले भवन ध्वस्त हुदा परिवारका ६८ सदस्य गुमे... 

देइर अल बलाह सहरमा बस्ने यास्मिन जौदाले भनिन्– मानिसहरु मृत्युबाट बच्न यता–उता दौडिरहेका छन् तर अन्त्यमा उनीहरुले मृत्यु भोगिरहेका छन् । अक्टोबर २२ मा इजरायली बमबारीमा मैले मेरो परिवारका ६८ सदस्य गुमाए । हामी इजरायलको आदेशमा उत्तरी गाजाबाट दक्षिण गाजा आएका हौं । यहाँ चार तले भवनमा आश्रय लियौं । अब सबै सकियो ।

३- एक वर्षको मिलिसा कहिल्यै हिँडन नसक्ने भइन्...  

यास्मिन जौदाकी भतिजी मिलिसा मात्र २२ अक्टोबरमा इजरायली बमबारीबाट बाँचेकी थिइन् । उनी एक वर्षकी मात्र छिन् । यास्मिनले भनिन्– मिलिसाले केही समयअघि हिँड्न सिकेकी थिइन् । उनले स-साना कदम अघि बढाएकी थिइन् । भर्खर हिड्न सिकेकी उनी अब कहिल्यै हिँड्न सक्ने छैनन् । आक्रमणका कारण उनको मेरुदण्ड भाँचिएको चिकित्सकले बताएका छन् । उनको छाती मुनिको सम्पूर्ण भाग पक्षाघात भएको छ ।

४- गाजामा अभिभावक हुनु श्राप...

गाजा शहरमा बस्ने अहमद मोडाभिखले आफ्नी ८ वर्षीया छोरी गुमाए । उनले भने- गाजामा अभिभावक हुनु कुनै अभिशाप भन्दा कम छैन । जीवित बच्चाहरूको यहाँ कुनै भविष्य छैन । स्वास्थ्य प्रणाली, शिक्षा प्रणाली, केही पनि बाँकी छैन । यो ठाउँ पूर्ण रूपमा ध्वस्त भएको छ । युद्ध जीवन र मृत्युको लडाई हो र गाजामा मृत्यु मात्र देखिन्छ ।

५- अन्तिम समयमा पनि कविता पढिरहेकी थिइन् छोरी... 

देइर अल-बलाह सहरमा बस्ने हाजिम बिन सइदले भने- मेरी छोरी असिललाई कविता मन पर्थ्यो । उनी प्रायः परिवारलाई कविता सुनाउँथिन् । कहिले काहिँ कविता पनि लेख्थे । उनको कल्पनाशक्ति धेरै राम्रो थियो । उनका कविताहरूमा हामी सबै हराउथ्यौँ । अक्टोबर १९ मा इजरायली बमबारीका कारण हाम्रो घरका पर्खाल हल्लिएपछि असिलले कविता सुनाउन थालिन् । त्यसपछि छत भत्कियो... असिल र मेरो छोरा अनसको मृत्यु भयो । 

६- आमासँग टाँसिएको छोराको टाउको भग्नावशेषले पुरेको थियो... 

इजरायली बम विष्फोटबाट डराएर माजद सौरीले आफ्ना बुबा रामेज सोरीलाई सोधे- बाबा, हामी कहाँ बस्ने ? विद्यालय भत्कियो, कहाँ खेल्ने ? रामेजले भने- घर भत्किएपछि हामी चर्चमा बस्न गयौं । मैले माजदलाई भने कि यहाँ डराउनु पर्दैन । यहाँ सबै सुरक्षित छन् तर यस्तो भएन । अक्टोबर २० मा इजरायली सेनाले यहाँ बम प्रहार गरेको थियो । १८ जना मारिए । तीमध्ये मेरी श्रीमती, छोरा माजद, सोहेल र छोरी जुली थिए । मजदको टाउको भग्नावशेषमा गाडिएको थियो । ऊ आमाको काखमा थियो र उसको टाउको भने भग्नावशेषमा पुरिएको थियो । मेरा छोराछोरीले मात्र शान्ति चाहन्थे । उनीहरु बाँच्न चाहन्थे ।

७- बालबालिकाको शव नजिकै बसेर संयुक्त राष्ट्रका कर्मचारी रोइरहेका थिए...

करम अल-शरिफ प्यालेस्टाइनमा संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका कर्मचारी हुन् । आक्रमणमा उनका चारै छोराछोरीको मृत्यु भएको थियो । उनले भने- मेरा १८ महिनाका जुम्ल्याहा बच्चाहरु केनान र नेइमान आक्रमणमा मारिए । ५ वर्षीय जौद र १० वर्षीया तस्निम पनि बाँचेनन् । मबाट सबै कुरा खोसियो । बालबालिकाको दाहसंस्कार गर्दा करमले रुदै उनीहरुको निधारमा चुम्बन गरेर बिदाइ गरे । उनले भने– इजरायली आक्रमण हुँदा हामी सबै नुसिरत शरणार्थी शिविरमा बसिरहेका थियौं । ६ तले भवन भत्कियो । जुम्ल्याहाको शव अझै फेला परेको छैन । भग्नावशेषमा उनीहरुको खोजी भइरहेको छ ।

हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । करिब २५०० लडाकुहरू सीमा बार तोडेर इजरायलमा प्रवेश गरेका थिए । हमासले सो दिन इजरायलमा ५ हजार रकेट प्रहार गरेको दाबी गरेको थियो । आक्रमणको केही समयपछि इजरायली सेनाले जवाफी कारबाही सुरु गरेको थियो । त्यसैले यो युद्ध ३० दिनपछि पनि जारी छ । अहिले १४०० भन्दा बढी इजरायलीको मृत्यु भइसकेको छ। ९ हजारभन्दा बढी प्यालेस्टाइनी पनि मारिएका छन् । 

(एजेन्सीहरुको सहयोगमा)
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै