• २०८१ बैशाख ६ बिहीबार

पर्यटक लोभ्याउँदै घले गाउँ ; प्रकृति र संस्कृतिको अनुपम उपहार

kharibot

 लम्जुङ / लमजुङ जिल्लाको क्ह्लोसोंथर गाउँपालिका वडा नं ३ (साविक उत्तरकन्या गाउँ विकास समिति) स्थित रमणीय घलेगाउँ प्रकृति, संस्कृति र स्थानीयपनले सम्पन्न गाउँ हो । 

समुद्र सतहबाट दुई हजार १०० मिटर उचाइमा अवस्थित यो गाउँ पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रेबाट ४२ किलोमिटरको दूरीस्थित लम्जुङको सदरमुकाम बेंसीशहरबाट २७ किलोमिटर पश्चिम–उत्तर दूरीमा अवस्थित छ । स्थानीयवासी एवम् ग्रामीण पर्यटन व्यवस्थापन समिति घलेगाउँका कार्यालय सचिव दीर्घ घलेका अनुसार यहाँ ८० घर गुरुङ र ४५ घर दलितका छन् । 

विसं २०५७ देखि १२ वटा घरबाट घरवास कार्यक्रम शुरु गरिएको यस गाउँलाई ग्रामीण पर्यटकीय होमस्टे (घरबास) गाउँका रूपमा विकास गरिएकामा हाल ३० वटा घरमा घरबास कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी गराए  । 
यहाँबाट घले गाउँ  प्रकृति र संस्कृतिले पर्यटक लोभ्याउँदै , अन्नपूर्ण, हिमालचुली, मनास्लु, लमजुङ, बौद्ध लगायतका हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । 
स्थानीयवासी बेलाराम घलेका अनुसार घरबास सञ्चालित घरमा दुईदेखि पाँच–सातजनासम्म सँगै बस्न सक्ने शयनकक्षको व्यवस्था मिलाइएको छ । 
स्थानीय नदी एवम् खोलाका माछा, भेडीगोठका भेडा, च्याङ्ग्र्रा, खसी, स्थानीय कुखुराको मासु, भेडा र माछाको सुकुटी, घरैमा उत्पादित कोदाको रक्सीको स्वाद चाख्नुका साथै मौसम अनुसार कुरिलो, निउरो जस्ता परिकारको स्वाद पनि यहाँ आउने पर्यटकले लिन पाउँछन् । 

“यहाँ सञ्चालित घरबासमा पर्यटक लक्ष्यित एक सय २६ वटा कोठा छन्,” उनले भने , “२०५७ सालदेखि सञ्चालित यहाँको घरबासमा पछिल्लो समयमा एक रातमा दुई सय जनासम्म पर्यटकलाई सजिलै बस्न खुवाउन सक्ने गरी व्यवस्था मिलाइएको छ ।” अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने यो गाउँ करिब सात सय वर्ष पुरानो मानिन्छ । लमजुङ सदरमुकाम बेंसीसहरबाट कच्ची मोटरबाटोको यात्रासँगै करिब साढे तीन घण्टामा आइपुगिने यस गाउँमा परम्परागत गुरुङ संस्कृति, घाँटु, सोरठीबाट स्वागत गर्ने प्रचलन छ । 

पर्यटकहरू गाउँ वरपर रहेको इलामकै झल्को दिने नमुना चिया बगान, भेडीगोठ, भ्युटावर, उत्तरकन्या मन्दिर जस्ता स्थानको अवलोकनमा रमाउने गर्दछन् । 
यहाँका स्थानीयवासीले गाउँमा आउने पर्यटकलाई टीका, फूलमाला पहि¥याएर गुरुङ संस्कृति झल्किने नृत्यमार्फत स्वागत गर्दछन् । होमस्टे सञ्चालन कार्यविधि २०६७ ले ग्रामीण क्षेत्रको समुचित विकासका लागि गाउँमै किसानले व्यवस्थित रूपमा होमस्टे सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ । 

स्थानीय रीतिरिवाज, संस्कार र चालचलनको अनुभूति गाउँमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई गराउने र मनोरञ्जनका लागि आवश्यक प्रवन्ध गर्ने परिकल्पना कार्यविधिले गरेको नेपाल पर्यटन बोर्ड पोखराका कार्यालय प्रमुख सूर्य थपलियाले बताए  । आकर्षक गाउँ, प्राकृतिक वातावरण, स्थानीयपन र यहाँका संस्कृति नै घलेगाउँको विशिष्ट पर्यटकीय आकर्षण भएको उनले बताए  । 

गाउँको पर्यटकीय सम्भावनालाई दृष्टिगत गरी पर्यटन बोर्डको सहयोगमा हालै होमस्टे सञ्चालन गरिएका ३० घरका सञ्चालकलाई तीन दिवसीय पर्यटन आतिथ्यता तथा होम स्टे व्यवस्थापन तालीम प्रदान गरिएको उनले जानकारी दिए । अर्का स्थानीयवासी गम्भीरसिंह गुरुङका अनुसार यहाँ आउने पर्यटकमध्ये ३० प्रतिशत विदेशी पाहुना हुने गर्छ । 

चारैतिर बाटोले घेरिएको थुम्कोमा रहेको यो गाउँ सूर्योदय र सूर्यास्तको अवलोकनका लागि पनि उपयुक्त रहेको गुरुङको भनाइ छ । 
सरसफाइमा एकदम ध्यान दिइने यस गाउँमा स्थानीय प्राङ्गारिक उत्पादनका साथै कोदाको सेल, चामलको सेलरोटी, झिलिङ्गा, घरमै उत्पादन गरिएका काउली, आलु, बोडी, रायो जस्ता तरकारी र अण्डाबाट पर्यटकको स्वागत गर्ने गरिन्छ । 

मनोरम चाँदी जस्तै टलक्क टल्कने हिमशृङ्खला, चराको चिरबिर, वरपर देखिने रमणीय पहाडी दृश्यले पर्यटकलाई लोभ्याउने गर्दछ । 
पुर्खाको सम्मानका लागि स्थानीयवासीले घले राजाको शालिकसहित पार्कको निर्माण गरेका छन् भने गाउँमै गुरुङ संस्कृतिको ज्वलन्त चित्रण गर्ने सार्क भिलेज पर्यटन संग्रहालय पनि स्थापना गरिएको छ । 

संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले २०७३ माघ २२ गते उद्घाटन गरे थिए । परम्परागत शैलीका घरका साथै गुजुमुच्च रहेको बस्ती पनि यहाँको अर्को आकर्षण हो । पदयात्रा पर्यटनको पनि सम्भावना बोकेको यो गाउँसँग तीन वटा पदयात्रा मार्ग जोडिएका छन् । बेंसीशहरबाट घलेगाउँ, घनपोखरा, पसगाउँ, पार्खीकोट, बेगनास हुँदै पोखरा जान सकिने एक मार्ग छ भने अर्को घलेगाउँदेखि ठुली लेक, सिक्लेस हुँदै पोखरा पुग्न सकिन्छ । त्यस्तै, छुर्चु लेक हुँदै नमुना नाघेर मनाङको तिमाङ पुगिने यहाँको अर्को पदमार्ग हो । 

यातायातका साधनबाट भने बेंसीशहरबाट बागलुङपानी हुँदै करिब छ घण्टामा घलेगाउँ पुग्न सकिन्छ । सरकारी तवरबाट पक्की सडक, खानेपानी, बिजुली बत्तीको राम्रो प्रबन्ध हुने हो भने यो सार्क सदस्य राष्ट्रमा मात्र नभै विश्वमै उत्कृष्ट पर्यटकीय गन्तव्य साबित हुने स्थानीवासीको विश्वास छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै