• २०८१ बैशाख १६ आइतबार

ट्रोलरको निशानामा रणवीर र दीपिका

kharibot

मुम्बई । रणवीर सिंह हालै ‘कफी विथ करण ८’ को पहिलो एपिसोडमा पत्नी दीपिका पादुकोणसँग देखिएका थिए । त्यसपछि दुवै लगातार ट्रोल भइरहेका छन् । अहिले रणवीरको पुरानो भिडियो क्लिप भाइरल भएको छ । यो भिडियो रणवीर आफ्नी पूर्व प्रेमिका अनुष्का शर्मासँग कफी विथ करणमा पुगेका बेलाको हो ।

‘कफी विथ करण’ को ८औं सिजनको पहिलो एपिसोडमा करण जोहरसँग कुरा गर्दा रणवीरले उनलाई आफ्नो र दीपिकाको प्रेमकथा सुनाएका थिए । रणवीरले दीपिकालाई पहिलो पटक कसरी र कहाँ भेटेको भन्ने बताएका थिए ।

रणवीरको यो कथा उनले कफी विथ करणको पुरानो एपिसोडमा सुनाएको भिडियोसँग मेल खाएपछि उनलाई ट्रोल गरिएको हो । रणवीर सिंहले अनुष्का र दीपिकालाई भेटेको उस्तै कथा सुनाएपछि उनी ट्रोलरको निशानामा परेका हुन् ।

रणवीर सन् २०११ मा अनुष्का शर्मासँग यस शोमा पुगेका थिए, जब उनले अनुष्काको यस्तै प्रशंसा गरेका थिए । रणवीरले भनेका थिए, ‘मैले ‘रब ने बना दी जोडी’ हेरेको थिएँ र अनुष्काप्रति पागल भएँ । यसपछि म डिनरको लागि बाहिर गएँ र अनुष्काको बारेमा मात्रै कुरा गरिरहेको थिएँ… त्यसपछि ढोका खुल्यो… हावाको झोक्का आयो र अनुष्का शर्मा मेरो अगाडि उभिएकी थिइन् ।'

रणवीरले सिजन ८ मा दीपिकाको बारेमा पनि यस्तै कथा सुनाएका छन् । करणको शोमा रणवीरले दीपिकाको तारिफ गर्दै भने, ‘त्यतिबेला दीपिकाको ‘ककटेल’ रिलिज भएको थियो र त्यो फिल्म हेरेपछि म उनको पागल भएँ । एक दिन म सञ्जय लीला भन्सालीको घरमा बसिरहेको थिएँ । कुन हिरोइनलाई कास्ट गर्ने भनेर हामी छलफल गरिरहेका थियौं र अचानक उनको घरको ढोका खुल्यो । बाहिरबाट हावाको झोका आयो र दीपिका एउटा ठूलो ढोकाबाट भित्र पसिन् । दीपिकाले सेतो कुर्ता लगाएकी थिइन् र उनी सादगीको प्रतिक देखिएकी थिइन् ।'

यो भिडियो भाइरल भएपछि मानिसहरुले रणवीरलाई तिब्र रुपमा ट्रोल गरिरहेका छन् । उनले आफ्नो पुरानो प्रेमकथा दोहोर्‍याएर सुनाएको बताउदै सामाजिक सञ्जालमा चर्चा चलिरहेको छ ।

सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले रणवीरले आफ्नो लेडीज वर्सेस रिकी बहलको क्यारेक्टर खेलिरहेको उल्लेख गरेका छन् ।

रणवीर र दीपिकाको भेट सञ्जय लीला भन्सालीको फिल्म ‘राम–लीला’ को सेटमा भएको थियो । दुवैले २०१८ मा विवाह गरेका थिए ।

यो शो टेलिकाष्टपछि रणवीर मात्र होइन दीपिका पनि ट्रोलरको निशानामा परेकी छन् । दीपिकाले रणवीरसँगको अफ्येर्सका बेला अन्य युवाहरुसँग पनि अफ्येर्स रहेको तर रणवीरप्रति प्रतिबद्ध रहेको बताएकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय