• २०८१ बैशाख २८ शुक्रबार

सोलु करिडोर प्रसारणलाइन समयमै सक्न ठेकेदारलाई प्राधिकरणको ताकेता

kharibot

फाइल तस्बिर ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सोलु करिडोर १३२ केभी प्रसारणलाइन आयोजनाको काम तोकिएकै समयमा सक्न ठेकेदार कम्पनीलाई ताकेता गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले सोलुखुम्बुको तिंलामा निर्माणाधीन १३२/३३/११ केभी सव–स्टेसन र प्रसारणलाइनको शुक्रबार, शनिवार र आइतबार स्थलगत निरीक्षण गरी काम तोकिएकै समयमा सक्न आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीलाई निर्देशन दिएका हुन् ।

प्राधिकरणले प्रसारणलाइन निर्माणमा ढिलाइ गरिँदा सोलु खोलामा निर्माणाधीन आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोड्न नसकी खेर जाने अवस्था आएको सार्वजनिक भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले समस्या समाधन गर्न घिसिङलाई निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनपछि घिसिङ, प्रसारण निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक बज्रभूषण चौधरी, ग्रिड विभागका निर्देशक रञ्जन चालिसे र विद्युत व्यापार प्रमुख प्रबल अधिकारीको टोली निजी प्रसारण लाइन तथा सव स्टेसन र त्यस क्षेत्रका जलविद्युत आयोजनाको निर्माण अवस्था बुझ्न स्थलगत निरीक्षणमा गएको हो ।

कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन निर्माणको काम सबैतर्फबाट सुरु गर्न आयोजना, ठेकेदार र परामर्शदाता कम्पनीलाई निर्देशन दिए । ‘प्रसारणलाइनमा पर्ने वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा देखिएको समस्या समाधान गरिदिन ऊर्जा र वन मन्त्रीलाई आग्रह गर्छु, तपाईहरु साइटमा काम गर्नुहोस्’, उनले भने, ‘निर्माण प्रगतिको नियमित अनुगमन हुन्छ, समयमै काम सकिएन भने यसको जिम्मेवारी आयोजना प्रमुख र ठेकेदार कम्पनी लिनुपर्छ ।’

त्यही प्रसारणलाइन बन्ने भएपछि सोलु खोलामा निजी क्षेत्रका २१७.५ मेगावाटका ६ जलविद्युत आयोजना निर्माण भइरहेका छन् । त्यसमध्ये ८२ मेगावाटको तल्लो सोलु र २३.५ मेगावाटको माथिल्लो सोलु आयोजनाको निर्माण सम्पन्न भई प्रसारणलाइन अभावमा विद्युत् जोड्न नसकेमा प्राधिकरणले ४५ प्रतिशत हर्जाना (पेनाल्टी) तिर्नुपर्ने व्यवस्था विद्युत् खरिद सम्झौता (पीपीए)मा छ ।

कार्यकारी निर्देशक घिसिङले ठेकेदार कम्पनी प्रबन्धकलाई चेतावनी दिंदै भने, ‘यदि प्रसारणलाइन तथा सबस्टेसन तोकिएको समयमा बनाउन नसकेर विद्युत् खेर जाने अवस्था सिर्जना भएमा प्राधिकरणले निजी आयोजनालाई तिर्नु पर्ने पेनाल्टी ठेकेदारबाट असुल गर्ने छौं ।’ नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैकको सहुलीयतपूर्ण ऋणमा निर्माण भइरहेको आयोजनाको काम सन् २०१९को मार्चमा सक्ने लक्ष्य राखिएको छ ।

तिंला–ओखलढुंगा–उदयपुर–मिर्चैया (सिराहा) ९० किलोमिटर प्रसारणलाइन आयोजनाले ३०३ टावर निर्माण गर्नुपर्छ । त्यसमध्ये हालसम्म ५० टावरको जग हालिएको छ भने पाँचवटा खडा गरिएको आयोजना प्रमुख जनार्दन प्रसाद गौतमले बताए । ‘सिराहा र उदयपुरतर्फबाट काम सुरु गरेका छौं’, उनले भने, ‘प्रसारणलाइन निर्माणको मुख्य समस्या वन क्षेत्रको जग्गा प्रयोगमा रहेको छ, यसको समाधान तत्काल गरिदिनु पर्छ ।’ 

ठेकेदार कम्पनी मोहन इनर्जीले डिसेम्बर २०१८ भित्रमा तिंलामा सबस्टेसन बनाइसक्ने प्रतिबद्धता जनाएको छ । कार्यकारी निर्देशक घिसिङले कामलाई तिब्रता दिन श्रमिकको संख्या बढाउन निर्देशन दिएका छन् । अहिले सव स्टेसन निर्माणमा ४२ जना मात्रै श्रमिक खटिएका छन् । ठेकेदार कम्पनीले एक हप्ताभित्रमा श्रमिक संख्या थप गर्ने प्रतिबद्धता जनाएको छ । ठेकेदार छनोटमा भएको विवादका कारण आयोजना झण्डै दुई वर्ष ढिला सुरु भएको थियो ।

टोलीले  तल्लो सोलु र माथिल्लो सोलु आयोजनाको पनि स्थलगत निरीक्षण गरेको थियो । तल्लो सोलुको समग्र निर्माण प्रगति करिव ५० र ८५ प्रतिशत रहेको आयोजनाहरुले जनाएका छन् । प्राधिकरणले सोलु करिडोर निर्माणमा केही ढिलाई हुने देखेपछि माथिल्लो सोलुको विद्युत जोड्नका लागि अस्थायी वैकल्पिक व्यवस्थाकारुपमा ओखलढुंगाबाट ३३ केभी प्रसारण लाइन निर्माण र तिंलामा ३३÷११ केभीको सव स्टेसन बनाइरहेको छ । यसको काम ६ महिनाभित्रमा सकिने प्राधिकरणका प्रवक्ता एवं व्यापार विभाग प्रमुख प्रवल अधिकारीले बताए ।

‘२३.५ मेगावाटको सोलु आयोजनाले डिसेम्बरभित्र विद्युत उत्पादन गर्ने बताइरहेको थियो, तर स्थलगत निरीक्षणबाट आयोजनालाई काम सक्क अझै झण्डै एक वर्ष लाग्ने देखिएको छ’, उनले भने, ‘ठेकेदारले सव स्टेसननको काम डिसेम्बर २०१८भित्र सक्ने प्रतिबद्धता जनाइसकेको छ, त्यसैले माथिल्लो सोलुको विद्युत जोड्न समस्या हुँदैन ।’

विद्युत गृह तयार भएको छ तर त्यसमा रहने इलेक्ट्रोमेकानिकल उपकरण अझै आयोजनास्थलमा पुर्याइएको छैन । उपकरण जडानमा समय लाग्छ । स्विजयार्ड र करिव ४ किलोमिटर प्रसारण लाइनको निर्माण आयोजनाले अझै सुरु गरेको छैन । ६ महिनाभित्रमा सोलुमा राष्ट्रिय ग्रिड प्राधिकरणले ६ महिनाभित्र सोलुमा राष्ट्रिय प्रसारण लाइन पुर्याउने भएको छ । कार्यकारी निर्देशक घिसिङले भन्नु भयो,‘सोलुमा अहिलेसम्म राष्ट्रिय प्रसारण लाइन जोडिएको छैन, ६ महिनाभित्र लाइन पुर्याउने गरी काम भइरहेको छ ।’

अहिले ओखलढुंगासम्म राष्ट्रिय प्रसारण लाइन पुगेको छ । प्राधिकरणले ओखलढुंगाबाट सोलुखुम्बुको सदरमुकाम सल्लेरीसम्म ३३ केभी प्रसारणलाइन तानिरहेको छ । अहिले सल्लेरी च्याल्सा माइक्रो हाइड्रोपावरमार्फत सल्लेरीमा विद्युत आपूर्ति गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै