• २०८१ बैशाख १६ आइतबार

क्रिकेट विश्वकपका रोचक १० रेकर्ड

kharibot

काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप आगामी अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा हुदै छ । यस विश्वकपमा विश्वका १० देशले भाग लिदै छन् । जसमा आयोजक भारतसहित पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रीका, इङल्याण्ड, न्यूजील्याण्ड, बंगलादेश, अफगानिस्तान सिधै छनौट भएका हुन् भने श्रीलंका र नेदरल्याण्डस विश्वकप क्वालिफायरमार्फत छनौट भएर विश्वकप खेल्दै छन् ।

१० देशले समुह चरणमा एक अर्का विरुद्ध एक एक पटक खेल्ने छन् । समुह चरणको खेलपछि शिर्ष चार देश सेमिफाइनलमा खेल्ने छन् । समुह चरणमा कुल ४५ खेल हुने छन् ।

यो विश्वकप भारतका १० स्टेडियममा हुदै छ । जसमा अहमदावादमा फाइनलसहित ५ खेल हुने छन् भने बैंगलोर, चेन्नई, दिल्ली, धर्मशाला, कोलकोता, लखनउ, पुने र मुम्बईमा ५-५ खेल हुने छन् । त्यस्तै हैदरावादको राजीवगान्धी क्रिकेट मैदानमा ३ खेल हुने छन् । त्यसैगरी कोलकोताको इडेन गार्डेन र मुम्बईको वान्खडे स्टेडियममा सेमिफाइनल खेल हुने छन् ।

यस रिपोर्टमा हामी क्रिकेट विश्वकपका १० रोचक रेकर्डको बारेमा चर्चा गर्दै छौं:

१- आइसीसी एकदिवसीय क्रिकेट विश्वकपमा सबैभन्दा बढी रन बनाउने रेकर्ड अहिलेसम्म भारतका महान क्रिकेटर सचिन तेन्दुलकरको नाममा रहेको छ । सचिनले विश्वकपका ४५ खेल खेल्दै कुल २२७८ रन बनाएका छन् । जसमा ६ शतक र १५ अर्धशतक रहेका छन् । सचिन १९९२, १९९६, १९९९, २००३, २००७ र २०११ को गरी कुल ६ विश्वकप खेलेका थिए ।

२- त्यसैगरी विश्वकपमा सबैभन्दा धेरै शतक बनाउने रेकर्ड पनि भारतका दुई ब्याट्सम्यानको नाममा रहेको छ । जसमा सचिन तेन्दुलकर र रोहित शर्माले विश्वकपमा कुल ६-६ शतक बनाएका छन् । त्यसैगरी श्रीलंकाका कुमारा संगाकारा र अस्ट्रेलियाका रिक्की पोंटीङले ५-५ शतक बनाएका छन् ।

३- त्यस्तै विश्वकपमा अहिलेसम्म सबैभन्दा धेरै विकेट लिने रेकर्ड भने अस्ट्रेलियाका महान बलर ग्लेन म्याक्ग्राको नाममा रहेको छ । म्याक्ग्राले विश्वकपका ३९ खेलमा कुल ७१ विकेट लिएर यो रेकर्ड आफ्नो नाममा लेखाएका छन् ।  उनी १९९६, १९९९, २००३ र २००७ गरी चार विश्वकप खेलेका थिए । त्यस्तै म्याक्ग्रापछि श्रीलंकाका महान स्पिनर मुथैया मुरलिधरणले ४० खेलमा ६८ विकेट लिएका थिए भने श्रीलंकाकै लासिथ मालिंगाले ५६ विकेट लिएका थिए ।

४- विश्वकपमा सबैभन्दा बढी ३ पटक ५ विकेट लिने रेकर्ड अस्ट्रेलियाका मिचेल स्टार्कको नाममा रहेको छ । त्यस्तै स्टार्कको नाममा एकै विश्वकपमा धेरै विकेट लिने बलरको रेकर्ड समेत रहेको छ । उनले २०१९ को विश्वकपका १० खेलमा २७ विकेट लिएका थिए । यस अघि २००७ को विश्वकपका ११ खेलमा अस्ट्रेलियाकै ग्लेन म्याक्ग्राले २६ विकेट लिएका थिए ।

५- त्यस्तै विश्वकपमा अहिलेसम्म सबैभन्दा बढी तिब्र बल फाल्ने रेकर्ड भन्दा पाकिस्तानका बलर शोएब अख्तरको नाममा रहेको छ । अख्तरले २००३ को विश्वकपमा इङल्याण्डविरुद्धको खेलमा १६१.३ किमी/घण्टा को गतिमा बल फालेका थिए ।

६- त्यसैगरी विश्वकपका सबैभन्दा बढी खेल खेल्ने रेकर्ड अस्ट्रेलियाका रिक्की पोन्टिङको नाममा छ । उनले विश्वकपमा कुल ४६ खेल खेलेका छन् । पोन्टिङपछि भारतका सचिन तेन्दुलकरले ४५ खेल खेलेका छन् भने श्रीलंकाका महेला जयवर्दना र मुथैया मुरलीधरणले ४०-४० खेल खेलेका छन् ।

७- त्यसैगरी अहिलेसम्म तीन विश्वकप जित्ने रेकर्ड तीन खेलाडीको नाममा छ । जसमा तिनै जना अस्ट्रेलियाका हुन् । एडम ग्रिलक्रिष्ट, ग्लेन म्याक्ग्रा र रिक्की पोन्टिङले १९९९, २००३ र २००७ को विश्वकप जितेका थिए ।

८- त्यस्तै कप्तानको रु[पमा सबैभन्दा बढी खेल खेल्ने रेकर्ड अस्ट्रेलियाका रिक्की पोन्टिङको नाममा रहेको छ । उनले विश्वकपका २९ खेलमा कप्तानी गरेका छन् । उनी विश्वकपका सबैभन्दा बढी सफल कप्तान पनि हुन् । उनको नेतृत्वमा खेलेका खेलमा उनले ९२.८५ प्रतिशत खेल जितेका थिए ।

९- विश्वकपमा सबैभन्दा बढी सफल विकेटकिपरको रेकर्ड श्रीलंकाका कुमारा संगाकाराको नाममा छ । उनले विश्वकपका ३७ खेलमा कुल ५४ ब्याट्सम्यानलाई आउट (डिसमिसल) गरेका थिए ।

१०- विश्वकपका खेलमा एकै खेलमा उत्कृष्ट बलिङ फिगरको रेकर्ड अस्ट्रेलियाका बलर ग्लेन म्याक्ग्राको नाममा रहेको छ । म्याक्ग्राले २००३ को विश्वकपमा नामिबियाविरुद्ध १५ रन दिएर ७ विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै