• २०८१ बैशाख १५ शनिबार

चिकित्सा शिक्षा ऐन संशोधनको तयारी भइरहेको छ- मन्त्री बस्नेत

kharibot

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा देखिएका कमीकमजोरी सुधान गर्न ऐन संशोधन गर्नुपर्ने बताएका छन् । 

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार अध्यापनसम्बन्धी पाठ्यक्रममाथिको छलफल’का क्रममा उनले उक्त ऐनमा भएका नराम्रा पक्षलाई सुधार गरेर जानुपर्ने बताउनुभएको छ । 

“चिकित्सा शिक्षा ऐन संशोधन हुनुपर्छ, राम्रा कुरालाई लिएर अगाडि बढौँ, कमीकमजोरी हटाएर राम्रो सुरुआत गरौँ”, उनले भने, “स्वास्थ्यकर्मी देशमै उत्पादन गरौँ, शिक्षा र स्वास्थ्यमा व्यापारीकरण भयो पनि भन्ने तर भएभरको पैसा र युवायुवती विदेशिने अवस्था आएको छ ।”

निश्चित व्यक्तिको उद्देश्य पूर्तिका लागि राज्य कमजोर हुन नहुने उनको भनाइ छ । ऐन संशोधनका बारेमा प्रधानमन्त्रीसहित सिङ्गो मन्त्रिपरिषद् सहमत भएको उल्लेख गर्दै उनले स्वास्थ्य र स्वास्थ्य मन्त्रालय, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका प्रतिनिधि राखेर ऐनमा सुधार गर्नुपर्ने विषयमा प्रक्रिया अगाडि बढिसकेको बताए । 

स्वास्थ्य र शिक्षालाई जनताको आधारभूत आवश्यकता मात्र नभई मौलिक हकसँग जोडिएको उल्लेख गर्दै उनले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन सरकार क्रियाशील रहेको बताए ।

मन्त्री बस्नेतले सबै खाले अस्पतालमा १० प्रतिशत शय्या उपचारसहित निःशुल्क गर्ने विषयलाई कार्यान्वयनमा लगिएको छ । दरबन्दी कम हुँदा स्वास्थ्य सेवा प्रवाह गर्न नसकिएको स्वीकार गर्दै उनले स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउन प्रधानमन्त्री र अर्थमन्त्री सकारात्मक पाएको बताए । 

राप्तीमा ‘जेरियाट्रिक’ विषय अध्यापन 

राप्ती स्वास्थ्य विज्ञान प्रष्तिष्ठानले ज्येष्ठ नागरिक रोग विशेषज्ञ स्वदेशमै उत्पादन गर्ने उद्देश्यले ‘जेरियाट्रिक’ विषयको अध्यापन गर्ने तयारी गरेको छ । त्यसका लागि प्रतिष्ठानले सम्बन्धित विषयका विज्ञसँग छलफल गरेर पाठ्यक्रम तयार गरेको छ । 

प्रतिष्ठानका निर्देशक एवं ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कँडेलले नेपालमा हालसम्म नेपालमा जेरियाट्रिक विषयमा ‘एमडी र फेलो’ कार्यक्रम नरहेको अवस्थामा राप्तीले पहिलो पटक जेरियाट्रिक विषय अध्यापन गराउन लागेको जानकारी दिए । 

पछिल्ला समयमा नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै गएको छ । ज्येष्ठ नागरिकको सङ्ख्याको तुलनामा विषेशज्ञ चिकित्सिकको सङ्ख्या भने अत्यन्त न्यून रहेको छ । नेपाल मेडिकल काउन्सिलमा जम्मा आठ जना ज्येष्ठ नागरिक रोग विशेषज्ञ दर्ता भएका छन् । नेपालमा कार्यरत जेरियाट्रिक चिकित्सकको सङ्ख्या तीन जनामा मात्र रहेको छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै