• २०८१ बैशाख २४ सोमबार

अमेरिकामा मेसीको जादु, आकासियो टिकट मुल्य !

kharibot

काठमाडौँ । लियोनेल मेसी इन्टर मियामी गएपछि अमेरिकामा फुटबलको लोकप्रियता निकै बढेको देखिएको छ ।

खासगरी इन्टर मियामीका खेलहरुमा सबै टिकट सोल्ड आउट हुने देखिएको छ ।

यसैबीच आइतबार हुने इन्टर मियामी र लास एन्जल्स एफसीबीचको खेलको टिकट अहिलेसम्मकै सबैभन्दा महँगोमा बिक्री भइरहेको सिएनएनले उल्लेख गरेको छ ।

मेजर लिग सकर अन्तर्गतको यो खेलको औसत टिकट मुल्य ६९० डलर पुगेको टिकट बिक्री गर्ने अनलाइन प्लेटफर्म टिकपिकले उल्लेख गरेको छ । यस अघि एमएलएसको महँगो टिकट औसतमा ११० डलर रहेको थियो ।

मेसीको अगामन पछि टिकटको मुल्यमा व्यापक वृद्धि भएको देखिएको छ । अहिले मेसी खेल्ने खेलको प्रति टिकटको मुल्य ७८५ सम्म पर्ने गरेको छ, जबकी मेसी नखेल्ने अन्य खेलको अधिकतम टिकट मुल्य बढीमा १५१ डलर सम्म मात्र रहेको बताइएको छ ।

टिकपिकका एक अधिकारी ब्रेट गोल्डबर्गले टिकटको उच्च माग भएकाले मुल्य अझै बढ्न सक्ने देखिएको बताएका छन् । एमएलएसमा लास एन्जल्स एफसी चर्चित क्लब मध्ये एक रहेको र उसको खेलको टिकट अन्य क्लबको भन्दा महँगो नै हुने भएपनि अहिले भने ७०० प्रतिशतसम्म बढेको उनले बताएका छन् ।

लिगमा मेसीको आगमनले अमेरिकी फुटबलमा नयाँ प्रभाव परेको देखिएको छ । खास गरी इन्टर मियामीका खेलमा दर्शकको विशेष उत्साह देखिएको छ भने टिकट मुल्य आकासियको छ । इन्टर मियामीको स्टेडियममा दर्शक नअट्ने भएपछि क्लबले दर्शकलाई सिट बाहेकका ठाउमा पनि राख्ने गरेको छ ।

त्यस्तै जर्सी निर्माता एडिडासले इन्टर मियामीका साथै अर्जेन्टिनाको जर्सीको अर्डर अक्टोबरसम्मको भइसकेको बताएको छ । जर्सी बेच्ने रिटेलर सकर डट कमले आफ्नो साइटमा बिक्रि हुने टप आठ जर्सी मेसीसँग सम्बन्धि रहेको बताएको छ ।

यसअघि फ्लोरिडामा मात्र जर्सी र किटको बिक्रीमा अगाडी रहेको इन्टर मियामी अहिले अमेरिकाका सबै राज्यमा जर्सी र किट बिक्रीमा शिर्ष स्थानमा पुगेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै