काठमाडौँ । डन–३ मा शाहरुख खानको स्थानमा डन बन्ने निश्चित भएपछि रणवीर सिंहले आफ्नो सपना पुरा भएको बताएका छन् ।
आफ्नो बचपनको पेस्तोल बोकेको तस्बीर सेयर गर्दै रनवीरले आफुले लामो समयदेखि देखेको सपना पुरा भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्-‘यो त्यो पात्र हो जसको उनले लामो समयदेखि सपना देखेका थिए ।'
रनवीरले बाल्यकालदेखि नै अमिताभ बच्चन र शाहरुख खानलाई हेर्दै आएको बताए । यी दुईको कारणले नै उनको अभिनयमा रुचि बढेको र अब उनीहरु दुवैको विरासतलाई अगाडि बढाउन चाहेको उल्लेख गरेका छन् ।
अगस्ट ८ मा निर्देशक फरहान अख्तरले डन–३ घोषणा गर्दै यसको प्रमुख डनको भूमिका रनवीर सिंहले निभाउने घोषणा गरेका थिए ।
रनवीरले लेखेका छन्– ‘म बाल्यकालमा नै फिल्मको मायामा परेँ । सबैजस्तै म पनि अमिताभ बच्चन र शाहरुख खानको पूजा गर्थें । यी दुवै हिन्दी सिनेमाका उत्कृष्ट कलाकार हुन् । यिनै दुईको कारणले म हिरो बन्ने सोचमा थिएँ । यी दुबैको मेरो जीवनमा धेरै प्रभाव छ । उनको विरासतलाई अगाडि बढाउनु मेरो बाल्यकालको सपना थियो ।'
उनले अगाडी लेखेका छन्- 'फरहान अख्तर र रितेश सिधवानीलाई धेरै धेरै धन्यवाद ममाथि विश्वास गरेकोमा । म तपाईको विश्वासमा जिउने प्रयास गर्नेछु । बिग बी र शाहरुख, आशा छ मेरो काम देखेर तपाईहरु दुबैले गर्व महसुस गर्नुहुनेछ । र मेरा प्रिय दर्शकहरू, सधैं झैं म पनि तपाइँको मनोरञ्जन गर्न सक्दो प्रयास गर्नेछु ।'
यसअघि फिल्मका निर्देशक समेत रहेका निर्माता फरहान अख्तरले नयाँ अभिनेतासँग अगाडि बढ्न चाहेको बताउदै त्यो नयाँ अभिनेता रनवीर सिंह रहेको एक टिजरमार्फत खुलासा गरेका थिए ।
फरहान अख्तरद्वारा निर्देशित डन सन् २००६ मा रिलिज भएको थियो । यसको दोस्रो भाग डन-२ सन् २०११ मा रिलिज भएको थियो ।
तर, डन–३ को घोषणासँगै सामाजिक सञ्जालमा बहस सुरु भएको छ । केही प्रयोगकर्ताहरू शाहरुख खान बिनाको डन-३ कल्पना गर्न नसकिने प्रतिक्रिया दिएका छन् ।
सन् २००६ मा जब शाहरुखलाई डनका लागि कास्ट गरिएको थियो, त्यसबेला शाहरुखले अमिताभ बच्चनको पुरानो डनलाई मिलाउन सक्छन् या सक्दैनन् भन्ने प्रश्न पनि उठेको थियो । शाहरुखले यो भूमिका यति राम्रोसँग निभाए कि ओरिजिनल डन अमिताभ बच्चनको नाम नै लिन छोडियो ।
अब रनवीर सिंहको अगाडि सबैभन्दा ठूलो चुनौती छ । उनले यी दुवै कलाकारको पुरानो चरित्रलाई न्याय गर्नुपर्छ । कुनै पनि ठूला कलाकारलाई प्रतिस्थापन गर्नु चुनौतिपूर्ण हुने भएको छ ।









