काठमाडौँ । पिएसजीले किलियन एम्बाप्पेसँग पूर्णरुपमा सम्बन्ध तोड्ने तयारी गरेको छ । एम्बाप्पेले क्लबमा एक बर्षको सम्झौता नवीकरण गर्न नमानेपछि शुरु भएको विवाद अझ बढ्दै गएको देखिएको छ ।
पछिल्लो रिपोर्ट अनुसार पिएसजीले एम्बाप्पे यस सिजनमा क्लबमै रहेमा पुरै सिजन खेल्न नदिने चेतावनी दिएको छ ।
पिएसजीले एम्बाप्पेलाई सधैका लागि वा लोनमा बेच्न गरेको प्रयास असफल भएपछि पुरै सिजन बाहिर बस्नुपर्ने चेतावनी दिएको बताइएको छ । पिएसजीले साउदी क्लब अल हिलालबाट आएको बम्पर अफर मान्न एम्बाप्पेलाई दबाब दिएको थियो । एम्बाप्पेले सो प्रस्ताव अस्वीकार गरेपछि प्रिमियर लिग क्लबबाट आएको लोनको प्रस्ताव पनि एम्बाप्पेले अस्वीकार गरेका थिए ।
यसैक्रममा एम्बाप्पेसँग विवाद बढिरहदा पिएसजीले आफ्नो स्टेडियम बाहिर रहेको उनको तस्बीर समेत हटाएको छ । साथै पिएसजीले पेरिसमा आफ्ना जर्सी बेच्ने सुपरस्टोरहरुमा समेत एम्बाप्पेको जर्सी बेच्न समेत बन्द गरेको छ ।
एम्बाप्पेले २०२४ जुनसम्म पिएसजीमा सम्झौता सकिएपछि फ्री-ट्रान्सफरमा रियल म्याड्रिड जाने सम्झौता गरेको बताइएको छ । पिएसजीले पनि यहि बुझेर एम्बाप्पे जस्तो हाइ प्रोफाइल खेलाडीलाई नि: शुल्क जान नदिने रणनीति बनाए पनि एम्बाप्पेले पिएसजीले राख्दै आएका सबै प्रस्तावलाई अहिलेसम्म अस्वीकार गर्दै आएका छन् र पिएसजीले एम्बाप्पेमाथि दबाब बढाउने सबै काम अहिले गरिरहेको छ ।
यदि घटनाक्रम यहि गतिमा अगाडी बढेमा आउदो एक बर्ष पुरै एम्बाप्पे पिएसजीको बेन्चमै बस्ने अवस्था सिर्जना भएको छ ।









