काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा नेताहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । बैठकको दोस्रो दिन बुधबार ४६ जना केन्द्रीय सदस्यले आ-आफ्नो धारणा राखेका थिए ।
बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी नेताहरु नै अनुशासनमा नरहेको, गुटबन्दी गरिरहेको भन्दै आलोचना गरेका थिए ।
बैठकमा नेताहरुले सरकार र पार्टीबीच समन्वय हुन नसकेको, पार्टी विधि र विधानअनुरुप चल्न नसकेकोलगायत गुनासा गरेका छन् भने केन्द्रीय सदस्यहरुले कांग्रेसलाई बलियो बनाउने र गल्ती नदोहोर्याउने गरी पार्टीलाई संस्थागत प्रक्रियामा चलाउनुपर्नेमा जोड दिएका छन् । साथै बैठकमा प्रदेश समितिलाई जिम्मेवारीविहीन बनाइएको भन्दै नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन् ।
बैठकमा प्रदेश सभापतिहरुले पार्टीमा सातैवटा प्रदेश संरचना बनाइए पनि जिम्मेवारीविहीन बनाइएको भन्दै आक्रोश व्यक्त गरेका थिए । साथै पार्टीका नेताहरु प्रदेश समितिसँग समन्वय नगरी सीधै जिल्ला र स्थानीय तहमा जाने गरेको उल्लेख गर्दै उनीहरुले प्रदेशलाई कम महत्त्व दिएर संगठनलाई कमजोर बनाइएको धारणा राखेका थिए । पार्टीको संगठनात्मक कार्ययोजनामा प्रदेश समितिलाई नजोडेर केन्द्रीय नेताहरु नै प्रदेशलाई कमजोर बनाउन लागि परेको आरोप लगाइएको छ ।
मंगलबार पेस भएका १० वटा एजेन्डा र प्रस्तुत गरिएका प्रतिवेदनमाथि आज सदस्यहरुले धारणा राखेका थिए । महामन्त्री गगन थापाले पेस गरेको कार्ययोजनामा आगामी एक वर्ष पार्टीमा सदस्यता अभियान चलाउने र पाँचदेखि सात लाखसम्म सदस्य थप्ने, पार्टीका विभागलार्इ ४८ बाट ७० पुर्याउने प्रस्ताव गरिएको छ ।









