• २०८१ बैशाख १६ आइतबार

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा पुनः निर्वाचित भएका एर्दोगानलाई बधाइ

kharibot

वाशिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाइ दिएका छन् ।

बाइडेनले उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को सहयोगीका रूपमा सँगै काम जारी राख्ने आशा समेत व्यक्त गरेका छन् । 

बाइडेनले ट्वीटमा लेखेका छन्, "टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई उहाँ पुन: निर्वाचित भएकोमा बधाइ । म द्विपक्षीय मुद्दाहरू र साझा विश्वव्यापी चुनौतीहरूमा नेटो सहयोगीहरूको रूपमा सँगै काम  गर्न चाहान्छु ।" आइतबार टर्कीको राष्ट्रपति चुनावमा एर्दोगान विजयी घोषणा भएपछि बाइडेनको उक्त टिप्पणी आएको हो ।

यत्यसैगरी अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाइ दिएका छन् । ब्लिन्केनले ट्वीट गर्दे लेखेका छन्-  "राष्ट्रपति एर्दोगानलाई पुन: निर्वाचित भएकामा  यसले त्यहाँको लामो लोकतान्त्रिक परम्परालाई झल्काउँछ। टर्किए एक मूल्यवान नेटो सहयोगी र साझेदार हो। म सरकारसँग हाम्रो निरन्तर सहकार्यका लागि तत्पर छु ।"

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीको राष्ट्रपतीय निर्वाचनमा जित हासिल गर्दै आफ्नो शासनलाई तेस्रो दशकसम्म लम्ब्याएको सीएनएनले जनाएको छ । एर्दोगानले आइतबार भएको मतदानमा विपक्षी नेता केमाल किलिचदारोग्लुलाई पराजित गरेका हुन् ।

एर्दोगानले २७,५१३,५८७ भोट वा खसेको मतको ५२.१४ प्रतिशत प्राप्त गरेका सीएनएनले देशको सर्वोच्च निर्वाचन परिषद्ले जारी गरेको तथ्याङ्कलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

यसैबीच विपक्षी नेता केमाल किलिचदारोग्लुले २५,२६०,१०९ मत वा ४७.८६ प्रतिशत प्राप्त गरेका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित भएपछि समर्थकहरूको ठूलो भीडलाई सम्बोधन गर्न राष्ट्रपति भवन पुगेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै