• २०८१ बैशाख १५ शनिबार

पशुपतिमा सुनको जलहरी: महालेखाले पनि उठाएको थियो प्रश्न

kharibot

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबारको प्रतिनिधि सभाको बैठक अवरोध गरेसँगै पशुपतिमा सुनको जलहरी लगाएको विषय अब चर्चामा रहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा २०७७ फागुन १२ गते पशुपतिमा ९६ किलोको जलहरी राखिएको थियो । जलहरीमा १२ किलो सुन पछि थप्ने भनिएको थियो । र दुई दिनको फरकमा थप १२ किलो सुन थपिएको थियो ।

अब यो विषयले संसदमा प्रवेश पाएको छ  सिन्धुली- २ बाट निर्वाचित माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जेठ १० गते बुधबारको संसद् बैठकमा ओली नेतृत्वको सरकारको पालामा पशुपतिमा सुनको भनेर पित्तलको जलहरी लगाएर भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

उनले भनेका थिए-  

गएको तीन वर्ष सरकारमा जाँदा ७ खर्ब ऋण थियो, १७ खर्ब कसरी पुग्यो ? सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्नुभयो, तर उहाँ सरकारमा बस्दा कति भ्रष्टाचारको काण्ड भए ? यति ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्री खरिदमा भएको २ अर्बको भ्रष्टाचार, त्यतिमात्र होइन, पशुपतिनाथमा सुनको जलहरी लगाउँदा पनि सुन लगाउने भनेर पित्तल लगाइदिएर गरेका भ्रष्टाचारहरूका सयौँ यस्ता काण्ड छन् ।

महालेखाले पनि उठाएको थियो प्रश्न ?

पशुपतिमा सुनको जलहरी राखिएकै दिन सर्वोच्च अदालतले पुरातात्विक सम्पदामा कुनै पनि चिज चलाउन वा थपघट गर्न नपाइने कानुन भएकाले चरण-चरणमा उक्त काम रोक्न अन्तरिम आदेश दिएको थियो । तर आदेशका बाबजुद् तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरी अनावरण गरेकी थिइन् ।

यो विषयमा महालेखा परीक्षकको प्रतिवेदनमा समेत प्रश्न उठाइएको थियो । महालेखापरीक्षकको ५९औं वार्षिक प्रतिवेदन २०७९ मा ‘पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन रू. ८० करोड ११  हजारमा खरिद गरेको र विभिन्न  शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक  १२.७५ ग्रामसमेत प्रयोग गरी  १०७ किलो  ९२४.७५ ग्राम सुन कायम भएको’ उल्लेख छ ।

निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किला लगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो  ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ ।

महालेखाले भनेको छ- रिङ बनाउन प्रयोग भएको सुनको मूल्य रू. ७ करोड ८६ लाख ४६ हजार रहेको छ। जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ्ग बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन ।

एमालेको संसद अवरोध 

शुक्रबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उठेर विरोध जनाएका एमाले सांसदहरुले रोष्ट्रम घेरेर नाराबाजी गरेपछि संसद बैठक स्थगित भएको छ ।  पशुपतिनाथको मन्दिरमा सुनको जलहरी भनेर पित्तलको राखेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आरोप सत्तापक्षका सांसदले लगाएको भन्दै उनीहरुले सरकारले जवाफ दिनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका हुन् । सभामुख घिमिरेले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएका थिए ।

उनीहरुले सरकारले जवाफ नदिएसम्म बैठक चल्न नसक्ने बताए । सोही बेला माओवादीका हितराज पाण्डेलाई बोल्न समय दिएपछि एमाले सांसदहरुले रोष्ट्रम घेरेर नाराबाजी गरिरहेका थिए ।

उनीहरुले पशुपतिको जलहरिको विषय छानबिन हुनुपर्ने बताउदै ओलीलाई आरोप लगाउने सांसदले माफी माग्नुपर्ने र संसद्को रेकर्डबाट हाटाउनुपर्ने माग गरेका छन् ।

एमालेले विषयान्तर गरेको आरोप

एमालेले शुक्रबार संसद्को बैठक अवरोध गरेपछि सरकारको नीति तथा कार्यक्रम पारित गर्ने समयमा विषयान्तर गरेको आरोप लगाइएको छ । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले संसदमै बोल्दै यस्तो बताएका हुन् । नीति तथा कार्यक्रमका बारेमा प्रधानमन्त्रीले जवाफ दिने दिन नै एमालेले संसद अवरोध गर्नुले एमालेले रणनीतिक रुपमा नै यस्तो अवरोध गरेको विश्लेषण गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै