• २०८१ कार्तिक १६ शुक्रबार

विकासमा पक्षपात भयो भने विद्रोह निम्तिन्छ- राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

kharibot

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकासका योजना छनौटमा पक्षपात हुँदा त्यसले विद्रोह निम्त्याउने सक्ने चिन्ता व्यक्त गरेका छन् । 

आफ्नो जन्मगाउँ पर्वतको मोदी गाउँपालिका वडा नं ७ को वडा कार्यालय भवनको उद्घाटन गर्दै  अध्यक्ष तिमिल्सिनाले भने, ‘विकास निर्माणका काम योजनाबद्ध र आवश्यकताका आधारमा हुन आवश्यक छ ।

विना गुरुयोजना पहुँच हुनेले योजनाहरु लाने र अरुले नपाउने भयो भने त्यस्तो अवस्थामा  विद्रोह हुन्छ ।  पक्षपातरहित ढंगले विकासको समानुपातिक वितरण आवश्यक छ ।’

विकासमा पक्षपात गर्नुहुँदैन भन्ने मान्यता सबैले राख्नुपर्ने कुरामा जोड दिँदै उनले सबैले भूगोल र क्षेत्रका बासिन्दाले पनि आफ्ना योजना पनि छनौटमा पर्छन भन्ने धैर्यता राख्ने र नीति निर्माण तहमा रहेका व्यक्तिले  विनापक्षपात काम गर्दै जाने हो भने त्यसले राम्रो प्रतिफल प्राप्त हुने बताए । 

तीनवटै तहका सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको तयारी गरिरहेका बेला योजनाबद्ध र आवश्यकताका आधारमा योजना छनौट गर्न उनले आग्रह गरे । 

२०५४ सालमा पोखरा बागलुङ सडक मात्रै रहेको अवस्थाको चर्चा गर्दैै तत्कालीन जिल्ला विकास समिति पर्वतमा सभापति भए पनि आफ्नै गाउँमा सडक बनाएर र अरु गाउँमा सडक उद्घाटन गर्दै छ भनेर  आरोप लागेको उनले स्मरण गरे । 

‘आफू तत्कालीन जिविस  सभापति हुँदा कार्यकालको अन्तिम वर्ष मात्रै गाउँ आउने सडकका लागि बजेट विनियोजन गरेको थिएँ,’ अध्यक्ष तिमिल्सिनाले भने । 

पर्वत जिल्लाका सबै वडा कार्यालयहरु सम्म पुग्ने सडकहरु कालोपत्रे हुने चरणमा रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अहिले काम भइरहेका र योजना छनौट प्रक्रियामा रहेका स्थानका बासिन्दालाई पनि धैर्यता गर्न आग्रह गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै