• २०८१ बैशाख १७ सोमबार

 डडेल्धुरामा खानपानीको अभाव

kharibot

डडेल्धुरा । डडेल्धुराका दलित बस्तीमा खानपानीको अभाव हुन थालेको छ ।

लामो समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानी अभाव भएको हो । अमरगढी–६ छचोडा गाउँमा पुराना जीर्ण खानेपानी योजना हुनु, लामो समयसम्म अकासको पानी नपर्नु तथा मौसम सुख्खा हुनु जस्ता कारणले खानेपानीको अभाव भएको हो ।

यहाँ दुई सय ५० घरधुरी छन् । यहाँ वि।सं २०४२ सालमा खानेपानी योजना पुगेको थियो । चार वर्ष अगाडि पनि खानेपानीका लागि घरघरमा धारा निर्माण भएका थिए ।

तर पुराना योजना जीर्ण हुँदै जानु र नयाँ योजना बजेट अभावका कारण सम्पन्न नहुँदा पानीको अभाव भएको वडा नं ६ का वडाध्यक्ष केवी ताम्राकारले बताए  । “अहिले गाउँमा नयाँ धारा छन् तर पानी आउँदैन”, अध्यक्ष ताम्राकारले भने ।

गाउँमा नयाँ धारा बने पनि पानी नआएपछि धारा जीर्ण बनेका स्थानीय बताउछन् । २०७६ सालमा पनि अमरगढी नगरपालिकाले रू पाँच लाखको लागतमा १० वटा धारा बनाएको थियो । 

छ किलोमिटर टाढाबाट पानीको पाइप विचयाई गाउँमा पानी पुर्याइए पनि मुहान टाढा भएकाले स्थानीयवासीले ठाउँठाउँमा पाइप काट्दा नियमित पानी वितरणमा समस्या देखिएको वडाध्यक्ष ताम्राकारको भनाइ थियो ।

पूर्व वडाध्यक्ष गोविन्दराज भट्टले २०४८ सालमा निर्माण गरिएको खानेपानीको लाइन ट्याङ्की मर्मत गरी पानी सञ्चालन गरिएको जानकारी दिए ।

“स्थानीयवासीले आफूलाई पायक पर्ने ठाउँमा पाइप काट्ने गरेको र लाइनको मर्मत नहुँदा धारामा निरन्तर पानी सञ्चालन हुन नसकेको हो”, उनले भने ।

दुमडा, सिमल, भोजनेउटा गाउँ हुँदै पानीको पाइप लाइन छचोडा गाउँ पुर्याइएको छ । उनले भने, “कहिले दुमडा, कहिले, सिमल र कहिले भजनेउटा गाउँवासीले पाइपलाईन काटिदिँदा नियमित पानी वितरणमा समस्या भएको हो ।”

खानेपानीको व्यवस्थापनका लागि आवश्यक बजेटको माग गरे पनि हालसम्म व्यवस्था हुन नसकेको अध्यक्ष ताम्राकारले बताए । 

स्थानीयवासी न्वला तथा अन्य खोलाको फोहरपानी प्रयोग गर्न बाध्य छन् । सरकारी कार्याललयहरुका लागि दैनिक ट्याङ्कर पानी ढुवानी गरिन्छ । न्वला खोलामा पनि पर्याप्त पानी नहुँदा समस्या हुने गरेको स्थानीयवासीको भनाइ छ । 

खेलामा पर्याप्त पानी नहुँदा परिवारको एकजनाको काम दिनभर पानी भर्न ठिक्क हुने स्थानीय जयन्ती ताम्राकारले बताए । खानलाई धौधौ गरी पानी पुगाए पनि लत्ताकपडा धुन, सरसफाइ गर्न समस्या हुने गरेको उनको भनाइ छ ।

“चुनावका बेला खानेपानीको व्यवस्था गर्ने, घरघरमै धारा बनाउने आश्वासन नेताहरुले दिए पनि चुनाव सकिएपछि समस्या समाधान भएको छैन”, स्थानीय ताम्राकारले गुनासो गरे ।

गर्मीयाम बढ्दै गर्दा दूषित पानीका कारण रोगको सङ्क्रमण बढ्ने खतरा छ । छचोडासगैंँ, अमरगढीका लटाउली, खन्मडा, मालम, हाट, तिलाडीलगायत नवदुर्गा गाउपालिकाका केही गाउँ र अजयमेरुका केही बस्तीमासमेत पानी अभाव हुने गरेको स्थानीय बताउँछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय