• २०८१ बैशाख १४ शुक्रबार

संसद्मा रोकिएको शिक्षा ऐन अगाडि बढ्छ- मन्त्री खनाल

kharibot

पाटन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले संसद्मा रोकिएको शिक्षा ऐन अगाडि बढाउने बताएका छन् । 

गोदावरी नगरपालिका–११ बज्रबाराहीस्थित ज्योतिदय सहकारी माध्यमिक विद्यालयको रजत जयन्ती समारोहमा मन्त्री खनालले विद्यालय शिक्षालाई रुपान्तरणको बाटोमा लैजाने गरी संसद्मा रोकिएको शिक्षा ऐन अगाडि बढाउने बताएका हुन् । 

“संविधानको परिकल्पना अनुसार हामीले विद्यालय शिक्षालाई रुपान्तरणको बाटोमा लैजाने गरी काम गर्नु आवश्यक छ”, मन्त्री खनालले भने । उनले अहिलेको शिक्षा पद्धतिले वर्ग विभाजन गरेको छ भन्दै यसलाई हामीले बेलैमा ध्यान दिएर सबैलाई समानरुपले शिक्षा हासिल गर्न पाउने वातावरण सृजना गर्नुपर्छ भने । सार्वजनिक, नीजि र शैक्षिक गुठीबाट सञ्चालित तीनैथरी विद्यालयलाई एउटै दृष्टिबाट हेर्ने परम्पराको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो । 

सांसद उदय शम्शेर राणाले शिक्षा क्षेत्रको विकासमा व्यक्ति र पार्टीगतरुपमा सकरात्मक भूमिका निर्वाह गर्ने बताए । सांसद राणाले भने, “निजी, सरकारी र शैक्षिक गुठीमार्फत सञ्चालित विद्यालयलाई एउटै आधारमा हेरिनु हुँदैन, सरकारी र शैक्षिक गुठीमार्फत सञ्चालन भएका विद्यालयलाई मिलाएर मापदण्ड कायम गर्नु जरुरी छ । सरकारी अनुदानको व्यवस्था हुनु आवश्यक छ ।”

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले स्थानीय सरकारलाई प्राप्त शिक्षा क्षेत्रको अधिकार उपभोग गर्न सहज हुने गरी संसदमा अड्किएको शिक्षा ऐन पारित गराउन आग्रह गरे ।

“संसदमा अड्किएको शिक्षा ऐन पारित नहुँदा हामीलाई काम गर्न धेरै समस्या भइरहेको छ । एउटा शिक्षक सरुवा गर्ने अधिकार पनि हामीलाई छैन, यसले गर्दा समस्या भइरहेको छ”, प्रमुख महर्जनले भने । 

सो अवसरमा विद्यालयले रजत वर्षको अवसरमा प्रकाशन गरेको स्मारिका विमोचन गरियो । न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा भन्ने उद्देश्यले सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित सो विद्यालय २०५४ माघ २० गतेबाट सञ्चालनमा आएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै