काठमाडौँ । अमेरिकन टेक कम्पनि गुगलको मातृ कम्पनी अल्फाबेटले ठूलो मात्रामा कर्मचारी हटाउने भएको छ । कम्पनीले १२ हजार कर्मचारीलाई निकाल्ने निर्णय गरेको घोषणा गरेको हो ।
समाचार एजेन्सी एएफपीका अनुसार अल्फाबेटका सीईओ सुन्दर पिचाईले कर्मचारीहरूलाई पत्र पठाएका छन् । यसमा उनले लेखेका छन्, ‘हामीले हाम्रो कार्यदलमा करिब १२ हजार पद घटाउने निर्णय गरेका छौं ।
उनले यो निर्णय अहिले सामना गरिरहेको बदलिएको आर्थिक वास्तविकताका कारण लिएको कर्मचारीलाई लेखेको इमेलमा उल्लेख गरेका छन् ।
साथै पिचाईले यो बिन्दुमा कम्पनि आइपुग्नुको पूर्ण जिम्मेवारी आफुले लिएको समेत उल्लेख गरेका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार यो निर्णयले सम्पूर्ण कम्पनीका धेरै टोलीलाई असर गर्नेछ। कम्पनीले अमेरिकामा यस निर्णयबाट प्रभावित मानिसहरूलाई जानकारी दिएको छ ।
अन्य देशहरूमा, यो प्रक्रिया पूरा हुन केही समय लाग्न सक्छ । केही दिनअघि माइक्रोसफ्टले १० हजारलाई जागिरबाट हटाएको जानकारी दिएको थियो ।