• २०८१ बैशाख १४ शुक्रबार

हजार पेनाल्टी अभ्यास गरेको स्पेन गोल नगरी बाहिरियो !

kharibot

काठमाडौँ । विश्वकप फुटबलबाट स्पेन बाहिरिएको छ । मंगलबार राति पश्चिम उत्तरी अफ्रिकन देश मोरक्कोले पेनाल्टी सुटआउटमा स्पेनलाई ३-० गोल अन्तरले पराजित गर्दै स्तब्ध बनायो ।

रोचक विषय के छ भने पेनाल्टी सुटआउटमा स्पेनले हानेका तिन वटै पेनाल्टी गोलमा परिणत हुन सकेन । पहिलो पेनाल्टी स्पेनका लागि पाब्लो सर्बियाले हानेका थिए, जुन पोलमा लागेर बाहिरिएको थियो भने दोस्रो पेनाल्टी कार्लोस सोलेरले हानेका थिए जुन मोरक्कोका गोलकिपर यासिन बोउनोउले बचाएका थिए । त्यस्तै तेस्रो पेनाल्टी सर्जियो बस्क्वेटले हानेका थिए । सो पेनाल्टी पनि मोरक्कोका गोलकिपरले बचाएका थिए ।

स्पेनका प्रशिक्षक लुइस इनरिकले खेल अगाडी स्पेनका खेलाडीले एक हजार पटक पेनाल्टीको अभ्यास गरेको बताएका थिए । तर पेनाल्टी सुटआउटमा तिनै खेलाडीले पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन् । प्रशिक्षक इनरिक पनि स्पेनले पेनाल्टी मिस गरेर हेरेर बस्न विवश देखिन्थे । 

प्रशिक्षक इनरिकले खेलाडीले अभ्यासमा हरेक पटक पेनाल्टीको अभ्यास गर्ने गरेको बताएका थिए ।  

२०१० मा विश्वकपको उपाधि जितेको स्पेन यो सँगै कतार विश्वकपबाट बाहिरिएको छ ।  साथै स्पेनले विश्वकपमा धेरै पटक पेनाल्टी सुटआउटमा पराजित हुने रेकर्ड समेत बनाएको छ । स्पेन विश्वकपमा अहिलेसम्म चार पटक पेनाल्टी सुटआउटमा पराजित भएको छ । स्पेन यसअघि १९८६ को विश्वकपमा बेल्जियमसँग क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा ५-४ ले पराजित भएको थियो । त्यसपछि २००२ विश्वकपमा दक्षिण कोरियासँग क्वाटरफाइनलमा ५-३ गोल अन्तरले पराजित भएको थियो । त्यसपछि २०१८ को विश्वकपको राउण्ड १६ मा स्पेन रसियासँग पेनाल्टी सुटआउटमा ४-३ ले पराजित भएको थियो ।  

त्यस्तै विश्वकपको पेनाल्टी सुटआउटमा एक गोल पनि नगर्ने टिममा २००६ मा स्वीजरल्याण्डपछि अहिले स्पेन दोस्रो देश बनेको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै