• २०८१ बैशाख १६ आइतबार

डेमोक्रेटिकको नेताको पदबाट पछि हटिन् न्यान्सी पेलोसी

kharibot

काठमाडौँ । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले आफू नयाँ संसदमा पार्टी नेताको पदमा नरहने बताएकी छन् ।

प्रतिनिधिसभाको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको जितले डेमोक्रेटिक पार्टीको बहुमत समाप्त भएको छ । सभामुख समेत रहेकी पेलोसी पछि हटेपछि पार्टी नेताको रुपमा नयाँ पुस्ताको लागि मार्ग प्रशस्त भएको छ । पेलोसीले अमेरिकी तल्लो सदनमा करिब २० वर्षदेखि डेमोक्रेटिक पार्टीको नेताको रुपमा कम गरेकी छन् ।

त्यस्तै उनी पहिलो पटक २००७ मा सभामुख बनेकी थिइन् भने २०११ देखि २०१९ सम्म प्रतिपक्षी दलको नेता रहेकी थिइन् । २०१९ देखि अहिलेसम्म पेलोसी सभामुख रहेकी छन् ।

मध्यावधि निर्वाचनमा रिपब्लिकनले अमेरिकी हाउस अफ रेप्रिजेन्टेटिभमा बहुमत हासिल गरेपछि डेमोक्रेट पार्टीले सभामुख पद गुमाउने भएको छ ।   

क्यालिफोर्नियाबाट डेमोक्र्याटिक पार्टीकी नेता पेलोसी सन् २००७ मा हाउस अफ रिप्रिजेन्टेटिभको पहिलो महिला सभामुख बनेकी थिइन् । उनले सान फ्रान्सिस्कोको प्रतिनिधित्व गरिरहने बताइन् । उनले ३५ वर्षदेखि सान फ्रान्सिस्कोको प्रतिनिधित्व गर्दै आएकी छिन् । 

डेमोक्र्याटहरूले अर्को वर्षको सुरुमा भेला हुने नयाँ कांग्रेसका लागि आफ्नो नेता चयन गर्नेछन् । न्युयोर्कका हाकिम जेफरीज (५२) ले पेलोसीको स्थान लिन सक्ने विश्वास गरिएको छ । 

न्यान्सी पेलोसीलाई अमेरिकामा बलियो सांसदको रुपमा हेरिन्छ । चीनको विरोधका बाबजुद पेलोसीले यसै वर्ष ताइवानको भ्रमण गरेकी थिइन् । युद्धको क्रममा, उनले युक्रेनको राजधानी कीभको पनि भ्रमण गरेकी थिइन्, जहाँ उनले राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग भेट गरेकी थिइन् । त्यस्तै पेलोसीलाई इजरायलको कट्टर समर्थकको रुपमा पनि लिइन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै