• २०८१ बैशाख ७ शुक्रबार

कस्तो छ मेसी र रोनाल्डोको विश्वकपमा प्रदर्शन ?

kharibot

काठमाडौँ । विश्व फुटबलका दुई सुपरस्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो पाँचौं पटक विश्वकप फुटबल खेल्दै छन् । दुवैले आ–आफ्नो क्लबलाई धेरै उपाधि दिलाएका छन् । तर दुवै दिग्गज आफ्नो पहिलो विश्वकप ट्रफीको पर्खाइमा छन् ।

३५ वर्षीय मेसीले अर्जेन्टिनाको नेतृत्व गर्नेछन् । यो उनको पाँचौं र सम्भवतः अन्तिम विश्वकप हुनेछ । अर्जेन्टिनाले ४४ वर्षदेखि विश्वकप ट्रफी जित्न सकेको छैन । यसबीचमा दुई पटक यो टोली उपाधिको निकै नजिक पुगेपनि फाइनलमा पराजित भएको थियो । गत वर्ष अर्जेन्टिनाले कोपा अमेरिका कपको उपाधि जितेको थियो । यस्तो अवस्थामा मेसीले अर्जेन्टिनाको ४४ वर्षको उपाधि खडेरी अन्त्य गर्न सक्ने अपेक्षा गरिएको छ ।

योसँगै रोनाल्डोको टोली पोर्चुगलले एकपटक पनि विश्वकपको उपाधि जित्न सकेको छैन । ३७ वर्षीय रोनाल्डोका लागि यो अन्तिम प्रतियोगिता हुने विश्वास गरिएको छ र उनी यो प्रतियोगिता जित्न चाहन्छन् ।

विश्वकपअघि मेसीले अहिले सबै राष्ट्रिय टोलीसँग खेल्न गाह्रो भएको बताएका छन् । विश्वकपमा कुनै पनि टोलीलाई हराउन सजिलो छैन । फ्रान्स र ब्राजिल राम्रा टोली हुन् र शीर्ष श्रेणीका खेलाडीहरू रशेको मेसीले बताएका छन् ।

अर्जेन्टिनाको सबैभन्दा ठूलो बल भनेको उनीहरूसँग विश्वका उत्कृष्ट फरवार्डहरू मध्ये एक मेसी छन् । मेसी बाहेक अर्जेन्टिनामा फरवार्ड लाउटारो मार्टिनेज र एन्जल डि मारिया पनि छन्, जसले मेसीमाथि गोल गर्ने दबाब केही हदसम्म कम गर्न सक्छन् । 

त्यस्तै अर्जेन्टिनाका केहि कमजोरी पनि रहेका छन् । पछिल्लो समय अर्जेन्टिनाको डिफेन्सिभ रेकर्ड राम्रो रहेको देखिदैन । यस विश्वकपमा उत्कृष्ट मिडफिल्ड र फरवार्ड रहेको अर्जेन्टिनाको डिफेन्सको परीक्षा हुने भएको छ ।

अर्जेन्टिनाका खेलाडीहरूले प्राय: स्टार खेलाडी लियोनल मेसीलाई बल पास गर्ने प्रयास गर्छन् ताकि उनले बललाई गोलपोस्टमा पुर्याउन सकुन । मेसीलाई बल दिने जिम्मेवारी लिएन्ड्रो परेडेस र रोड्रिगो डे पल जस्ता राम्रा मिडफिल्डरको काँधमा छ ।

मेसीले २००६, २०१०, २०१४ र २०१८ को विश्वकप खेलेका छन् । ३ खेल खेलेपछि मेस्सी यस प्रतियोगितामा अर्जेन्टिनाका लागि सबैभन्दा धेरै क्याप खेल्ने खेलाडी बन्ने छन् ।

अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको अर्जेन्टिना ४४ वर्षदेखि विश्वकप ट्रफीको प्रतिक्षामा छ ।

विश्वकपमा मेसीको अहिलेसम्मको प्रदर्शनको कुरा गर्दा मेसीले अहिलेसम्म विश्वकपका १९ खेल खेलेका छन् । जसमा उनले ६ गोल गरेका छन् भने ५ गोल असिस्ट गरेका छन् ।

विश्वकप खेल्ने अर्जेन्टिनाको टिम:

गोलकिपर: एमिलियानो मार्टिनेज, फ्रान्को अरमानी, जेरोनिमो रुल्ली ।
डिफेन्डर: गोन्जालो मोन्टिएल, नाहुएल मोलिना, जर्मन पाजेला, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, लिसान्ड्रो मार्टिनेज, जुआन फोयथ, निकोलस टेग्लियाफिको, मार्कोस अकुना ।
मिडफिल्डर: लिआन्ड्रो परेडिस, गुइडो रोड्रिग्वेज, एन्जो फर्नान्डेज, रोड्रिगो डे पल, जाक्वेल पालासियोस, एलेजान्ड्रो गोमेज, एलेक्सिस म्याकअलिस्टर ।
फरवार्ड: पाउलो डिबेला, लियोनेल मेसी, एन्जेल डि मारिया, निकोलस गोन्जालेज, जोकिन कोरिया, लाउटारो मार्टिनेज, जुलियन अल्भारेज ।

त्यस्तै क्रिस्टियानो रोनाल्डोले विश्वकपमा अहिले सम्म १७ खेल खेलेका छन् । जसमा रोनाल्डोले ७ गोल गरेका छन् भने २ गोल असिस्ट गरेका छन् । ३ गोलसँगै रोनाल्डो पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बन्ने छन् ।

एक गोलसँगै रोनाल्डो पाँच फरक विश्वकपमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बन्नेछन् ।

सन् १९६६ मा पोर्चुगलको टोली तेस्रो भएको थियो र यो विश्वकपमा उनको उत्कृष्ट प्रदर्शन हो ।

पोर्चुगलको विश्वकपमा प्रमुख खेलाडी ३७ वर्षीय क्रिस्टियानो रोनाल्डो नै हुन् । टोलीले उनीबाट राम्रो प्रदर्शनको अपेक्षा गरेको छ । रोनाल्डो बाहेक टोलीमा गोल गर्ने क्षमता भएका जोआओ फेलिक्स पनि छन् । टोलीसँग अनुभवी गोलकिपर रुई प्याट्रिको पनि छन्, जसले २०१६ को युरो जितमा राम्रो भूमिका खेलेका थिए । मिडफिल्डमा, ब्रुनो फर्नान्डिस र बर्नार्डो सिल्भा गोल गर्ने अवसरहरू सिर्जना गर्ने जिम्मेवारीमा छन् ।

आँकडामा पोर्चुगल बलियो टिम देखिएपनि यसका कमजोरी पनि छन् । रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्छन् र इङ्लिस प्रिमियर लिगमा आफ्नो खराब फर्मसँग संघर्ष गरिरहेका छन् । पछिल्लो समय पोर्चुगिज टोलीको फार्म खासै राम्रो रहेको छैन । पोर्चुगलले छनौट चरणमा पनि प्लेअफ खेलेर विश्वकपमा आएकोले टिम अनुसारको खेल प्रदर्शन गर्न सकेको छैन । पछिल्लो समय नेसन्स लिगमा पनि स्विट्जरल्याण्ड र स्पेनसँग हार बेहोरेको थियो । टोलीको खराब फर्म सबैभन्दा ठूलो कमजोरी हो ।

प्रशिक्षक फर्नान्डो सान्तोस रक्षात्मक रणनीतिमा जाँदैनन् । छनोट चरणमा उनको टोलीले आक्रामक खेलेको थियो । सान्तोसले प्रत्येक टोलीविरुद्ध फरक रणनीति बनाउँछन् र टोलीले त्यही अनुसार खेल्छ ।

विश्वकप खेल्ने पोर्चुगलको टिम:

गोलकिपर: डिओगो कोस्टा, रुई प्याट्रिको, जोसे सा।
डिफेन्डर: डिओगो डालोट, जोआओ क्यान्सेलो, डानिलो परेरा, पेपे, रुबेन डायस, एन्टोनियो सिल्भा, नुनो मेन्डेस, राफेल गुरेइरो ।
मिडफिल्डर: रुबेन नेभ्स, जोआओ पाल्हिन्हा, विलियम कार्भाल्हो, ब्रुनो फर्नान्डेस, भिटिन्हा, ओटाभियो, जोआओ मारियो, म्याथियास नुनेस, बर्नार्डो सिल्भा ।
फरवार्ड: राफेल लिओ, जोआओ फेलिक्स, रिकार्डो होर्टा, गोन्कालो रामोस, क्रिस्टियानो रोनाल्डो, आन्द्रे सिल्भा ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै