काठमाडौं । हामी विश्वकप फुटबल नजिकिदै गर्दा यस बारे विश्वभरका फुटबल प्रेमीहरुको चासो बढिरहेको छ । अहिले विश्वकपमा सहभागी देशहरुले आफ्नो देशको टिम घोषणा गरिरहेका छन् ।
यसैक्रममा केही उत्कृष्ट खेलाडीहरू आफ्नो उत्कृष्ट फर्मसहित विश्वकप खेल्न जादैछन् । यस रिपोर्टमा आफ्नो यस बर्ष उच्च फर्मसहित विश्वकप खेल्न जान लागेका ५ खेलाडीको चर्चा गर्दै छौं ।
यस सूचिको पाँचौं स्थानमा रियल म्याड्रिडबाट खेल्ने उरुग्वेका फेडेरिको भालभेर्डे रहेका छन् । फेडेरिको अहिले आफ्नो क्यारियरकै उत्कृष्ट फर्ममा रहेका छन् । २४ बर्षिय सेन्ट्रल मिडफिल्डर फेडेरिकोले गत सिजनमा सबै प्रतियोगिताका ४८ खेलमा केवल कुल ३ गोल गरेका थिए भने यस सिजनमा उनले २० खेलमा ८ गोल गरिसकेका छन् । उनलाई उरुग्वेका लागि कतार विश्वकपमा महत्वपूर्ण खेलाडीको रुपमा हेरिएको छ । रियल म्याड्रिडका प्रशिक्षक कार्लो एनसेलोटीले भालभेर्डेले यस सिजनमा कम्तिमा १० गोल नगरेमा आफुले आफ्नो प्रशिक्षण लाइसेन्स त्याग्ने घोषणा पनि गरेका थिए । यसबाट पनि उनको यस सिजनको फर्म कति राम्रो छ भन्ने अनुमान गर्न सकिन्छ ।
त्यस्तै यस सूचीमा चौथो स्थानमा पिएसजीबाट खेल्ने ब्राजिलका नेइमार रहेका छन् । अघिल्लो सिजनमा पिएसजीका लागि केवल २८ खेल खेल्दै १३ गोल मात्र गरेका नेइमारले यस सिजनमा भने अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरेका छन् । नेइमारले पिएसजीका लागि अहिलेसम्म १९ खेल खेल्दै १५ गोल गरेका छन् । साथै नेइमारले यस सिजनमा १२ गोल असिस्ट पनि गरेका छन् । ३० बर्षिय नेइमार यस विश्वकपमा ब्राजिलका प्रमुख खेलाडीको रुपमा सहभागी हुदै छन् । साथै उनी यस विश्वकपमा धेरैले उत्कृष्ट प्रदर्शनको आशा गरेका खेलाडी पनि रहेका छन् ।
त्यसैगरी यस सूचीमा तेस्रो सूचीमा म्यानचेस्टर सिटीबाट खेल्ने बेल्जियमका केभिन डी ब्रुने रहेका छन् । ब्रुने विश्वकपमा बेलिज्यमको प्रमुख खेलाडीको रुपमा सहभागी हुदैछन् । ब्रुनेले यस सिजनका १३ प्रिमियर लिग खेलमा सिटीका लागि १४ गोलका अवसर सिर्जना गरेर उच्च फर्म देखाएका छन् । उनी अहिले विश्वकै उत्कृष्ट क्रियटिभ खेलाडीको रुपमा विश्वकप खेल्दै छन् । उनले यस सिजनमा अहिलेसम्म खेलेका १८ खेलमा ३ गोल गरेका छन् भने १३ गोल असिस्ट गरेका छन् ।
यस सूचिको दोस्रो स्थानमा पिएसजीका लागि खेल्ने फ्रान्सका किलियन एम्बाप्पे हुन् । एम्बाप्पे अहिले विश्व फुटबलका सबै भन्दा उत्कृष्ट खेलाडी मध्ये एक हुन् । साथै उनको यस सिजनमा उत्कृष्ट फर्म देखिएको छ । यस सिजनमा खेलेका कुल १९ खेलमा उनले १८ गोल गरेका छन् । उनी यस विश्वकपमा फ्रान्सको प्रमुख खेलाडीको रुपमा सहभागी हुदै छन् ।
यस सूचीको पहिलो नम्बरमा पिएसजीबाट खेल्ने अर्जेन्टिनाका लियोनेल मेसी छन् । मेसीको यस सिजनमा उत्कृष्ट प्रदर्शन देखिएको छ । सम्भवत: अन्तिम विश्वकप खेल्न लागेका ३५ बर्षिय मेसीले यस सिजनमा अहिलेसम्म १८ खेल खेल्दै १२ गोल गरेका छन् बहने १४ गोल असिस्ट गरेका छन् । त्यस्तै उनले यस बर्ष २०२२ मा अर्जेन्टिनाबाट कुल ६ खेल खेल्दै १० गोल समेत गरेका छन् ।









