काठमाडौँ । कतारमा हुने विश्वकप फुटबल नजिकिदै गर्दा घाइते भएर प्रतियोगिताबाट बाहिरिने खेलाडीको सूची पनि बढ्दै गएको छ ।
पछिल्लो पटक फ्रान्सका खेलाडी पाउल पोग्वा विश्वकपबाट बाहिरिएका छन् । इन्जुरिका कारण यो सिजननै खेल्न नसकेका पोग्वा नयाँ इन्जुरीपछि विश्वकप खेल्न नसक्ने भएका हुन् ।
त्यस्तै पछिल्लो रिपोर्ट अनुसार टोटनह्यामबाट खेल्ने दक्षिण कोरियाका खेलाडी सन होंग मिन पनि घाइते भएको र विश्वकप खेल्नेमा आशंका रहेको छ ।
अबको केहि दिनमा नै विश्वकप खेल्ने टिमको घोषणा हुने छ । तर यस अघि प्रमुख खेलाडीहरु घाइते हुदा प्रशिक्षकहरु समस्यामा परेका छन् ।
अहिलेसम्म फ्रान्सका पाउल पोग्वा र एन्गोलो कान्टेले विश्वकप गुमाउने निश्चित भएको छ । फ्रान्सको लागि यो निकै ठुलो झट्काको रुपमा लिइएको छ । कान्टे फ्रान्सको मिडफिल्डमा तिब्र गतिका साथ बल फरवार्डलाई उपलब्ध गराउन सक्ने खेलाडीका रुपमा परिचित छन् । त्यस्तै पोग्वाको मिडफिल्डमा अनुपस्थितिले फ्रान्सलाई मुश्किल पर्ने निश्चित छ ।
त्यस्तै लिभरपुलबाट खेल्ने पोर्चुगलका डिओगो जोटा पनि विश्वकपबाट बाहिरिएका छन् । पोर्चुगलका लागि यो निकै ठुलो झट्काको रुपमा लिइएको छ । जोटा काल्फ़ इन्जुरीका कारण विश्वकपबाट बाहिरिएका छन् । त्यस्तै पोर्चुगलका पेड्रो नेटो पनि विश्वकपमा इन्जुरिका कारण उपलब्ध हुने छैनन् । त्यस्तै पोर्चुगलका भेट्रान डिफेन्डर पेपे पनि अक्टोबरमा घाइते भएपछि विश्वकप खेल्नेमा आशंका व्यक्त गरिएको छ ।
त्यस्तै विश्वकप गुमाएका अर्का चर्चित खेलाडी हुन ब्राजिलका रिचार्लिशन । टोटनह्यामबाट खेल्ने रिचार्लिशनले आफ्नो सपना टुटेको बताउदै विश्वकप गुमाउने बताएका छन् ।
त्यस्तै नेदरल्याण्डसका जर्जिनियो विजनाल्डम पनि इन्जुरीका कारण विश्वकप गुमाउने भएका छन् । रोमाबाट व्यावसायिक फुटबल खेलिरहेका विजनाल्डम विश्वकपबाट बाहिरिएका हुन् । उनले नेदरल्याण्डसका लागि ८६ खेलमा २६ गोल गरेका छन् ।
त्यस्तै अमेरिकाका डिफेन्डर माइल्स रोबिन्सन, पोल्याण्डका जाकुब मोडेर, मेक्सिकोका जेसस कोरोना पनि विश्वकपबाट बाहिरिएका छन् ।
यी बाहेक केहि चर्चित खेलाडीहरु आफ्नो इन्जुरीबाट निस्केर विश्वकप खेल्ने प्रयासमा लागिरहेका छन् ।
जसमा ईङल्याण्डका कील वाल्कर, रीस जेम्स, काल्भिन फिलिप बेन चीलवेल रहेका छन् ।
त्यस्तै अर्जेन्टिनाका पाउलो डिबाला पनि इन्जुरिका कारण विश्वकपमा उपलब्ध हुने नहुने निश्चित रहेको छैन । उच्च फर्ममा रहेका डिबाला अनुपस्थित रहेमा अर्जेन्टिनालाई ठुलो झट्का लाग्न सक्छ । त्यस्तै फ्रान्सका भेट्रान डिफेन्डर राफेल भरान र माइक मेगनान पनि इन्जुरीबाट निस्किने प्रयासमा रहेका छन् ।
त्यसैगरी जर्मनीका चर्चित गोलकिपर मान्युएल नेउएरलाई छालाको क्यान्सर भएको छ र उनी विश्वकप खेल्ने नखेल्ने स्पष्ट भएको छैन । त्यस्तै जर्मनीकै फ्लोरेन वीर्त्ज पनि हाल घाइते रहेका छन् ।
त्यसैगरी मेक्सिकोका राउल जिमेनेज, स्पेनका मिकेल ओयाराबल, उरुग्वेका रोनाल्ड अराउजो, डेनमार्कका आन्द्रीज क्रिस्तियन पनि हाल घाइते रहेका छन् र उनीहरुको विश्वकप खेल्नेमा अनिश्चितता रहेको छ ।









