• २०८१ कार्तिक १६ शुक्रबार

बन्द हुने अवस्थामा प्रदेश नं १ को जैविक मल उद्योग

kharibot

पथरी । पछिल्लो पाँच वर्षदेखि सञ्चालनमा आएको प्रदेश नं १ को उचित जैविक मल उद्योग बन्द हुने अवस्थामा पुगेको छ ।

विसं २०७४ मा मोरङको पथरीशनिश्चरे–२ मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको प्रदेश नं १ को एक मात्र जैविक मल उद्योग सञ्चालनमा आए देखिनै घाटामा चल्दै आएको छ । तीन करोड ५० लाखको लगानीमा १५ वटा कृषि सहकारी संस्था र तीन वटा किसान समूहले एक बिघा क्षेत्रफल भाडामा लिएर उद्योग सञ्चालनमा ल्याएका हुन् ।

जैविक मल उद्योग काठमाडौँले उपत्यका बाहिर प्रदेश नं १ शाखा सञ्चालनमा ल्याए पनि प्रदेशमा नै बजार नपाउँदा उद्योग घाटामा चलिरहेको हो ।

प्रतिघण्टा एक टन मल उत्पादन गर्ने क्षमता रहेको उद्योगले माग नभएका कारण वार्र्षिक तीन सय टन मात्रै मल उत्पादन गरिरहेको छ ।

मलको अभाव र माटोको संरक्षण गर्ने उद्देश्यसहित सञ्चालनमा आएको उद्योगले सरकार र स्थानीय पालिकाको सहयोग नपाएका कारण बन्द हुने अवस्थामा पुगेको हो ।

तर यता सरकारले छठलगत्तै ६० हजार मेट्रिक टन रासायनिक मल भित्र्याउने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनीले तिहार र छठ सकिए लगत्तै युरिया र डिएपी मल भित्र्याउने कम्पनीका प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए । पथरी शनिश्चरेका पूर्वनगर प्रमुख दिलीपकुमार राईले वार्षिक १० लाखको मल खरिद गरी किसानलाई वितरण गर्दै आउनुभएको थियो । तर उक्त सहयोग पनि नयाँ जनप्रतिनिधि आएलगत्तै रोकिएपछि उद्योग सङ्कटमा परेको छ ।

सरकारले बाहिरबाट खरिद गर्ने रासायनिक मलको सट्टा जैविक मलको प्रयोग गरे बाहिरिने अर्बौ रुपैयाँ रोकिने उद्योगका सञ्चालक कृष्णचन्द्र महर्जन बताउछन् ।

जैविक मलमा सरकारले चासो देखाए, किसानलाई अभिप्रेरित गरे माटोको सुरक्षा र अन्न उत्पादनमा वृद्धि हुने उनले बताए ।

जैविक मल प्रयोगमा ल्याए किसानको र राज्यको समस्या दुवै हल हुनुका साथै धेरैले रोजगारी पाउने छन् । तर नेपाल सरकारले रासायनिक मल युरिया प्रतिमेट्रिकटन छ सय ९३ डलरले खरिद गर्दैछ । सरकारले बाहिरबाट खरिद गरेर ल्याएको युरिया मल किसानलाई अनुदानमा उपलब्ध गराउँदै आएको छ ।

उद्योगले मल बनाउन धानको ढुटो (ब्रन), प्रेसमड, चिउरीको पिना, तोरीको पिना, हड्डीको धुलो र कृषि चुनको प्रयोग गर्ने गरेको छ ।

आठ केजी मलले एक कठ्ठा जमिनलाई पर्याप्त हुने बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै